कालिञ्चोक क्षेत्रमा भेटियो यार्सागुम्बा

 आवाज संवाददाता     ३१ जेष्ठ २०७७, शनिबार

नवराज शिवाकोटी
जेठ ३१

दोलखाको कालिञ्चोक भगवती मन्दिर आसपासको क्षेत्रमा हिमाली जडिबुटी यार्सागुम्बा भेटिएको छ । कालिञ्चोकको कुरी, घ्याङडाँडा, टुट्वान, भित्रे, स्वाँरेलगायत स्थानमा यो वर्ष यार्सा पाइएको कालिञ्चोकका स्थानीय सोनाम शेर्पाले बताए ।

माङन (जंगली साग) र च्याउको खोजीमा निस्किएका कालिञ्चोकका स्थानीले यार्सागुम्बा फेला पारेका हुन् । ठूलो परिमाणमा नभेटिए पनि फाट्टफुट्टट रूपमा यार्सा भेटिएको स्थानीयको भनाइ छ । यसअघि कालिञ्चोक क्षेत्रमा यार्सागुम्बा पाइएको थिएन ।

कालिञ्चोक क्षेत्रमा पहिलोपटक यार्सा भेटिएको डिभिजन वन कार्यालाय दोलखाका निमित्त प्रमुख चन्द्रबहादुर थापाले पनि पुष्टि गरे । पहिलोपटक भेटिएको हुनाले यहाँको यार्साको गुणस्तरसम्बन्धी अध्ययन भइरहेको थापाको भनाइ छ । वन अधिकृत शम्भु बराइलीसहितको डिभिजन वन कार्यालय दोलखाको टोली कालिञ्चोक क्षेत्रमा पुग्दा यार्सा देखिएको बताएको छ ।

यस्तै गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका संरक्षण सहायक शंकर थामीले पनि कालिञ्चोक क्षेत्रमा यार्सागुम्बा भेटिएको बताए । आफै कालिञ्चोक क्षेत्रमा पुग्दा यार्सा देखेको उनी बताउँछन् । कुरी क्षेत्रमै यार्सा भेटिएपछि कालिञ्चोक क्षेत्रका अन्य ठाउँमा ठूलो परिमाणमा यार्सा हुन सक्ने उनको अनुमान छ ।

गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरको थोपा डाँडालगायत स्थानमा यार्सा पाइने गरेको छ । यार्सा खोज्ने सिजनमा मानिसहरू हजारौंको संख्यामा वनमा जाने गरेका छन् । तर, यो वर्ष भने कोरोना भाइरसको त्रास र लकडाउनका कारण गौरीशंकर संरक्षण क्षेत्रले यार्सागुम्बा टिप्न तथा भीरमौरीको मह संकलन गर्न यसअघि नै रोक लगाइसकेको छ ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।