कालिञ्चोक गाउँपालिकाले प्राविधिक विषयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

 आवाज संवाददाता     ५ असार २०७७, शुक्रबार

नवराज शिवाकोटी
असार ५, चरिकोट

कालिञ्चोक गाउँपालिकाले प्राविधिक विषयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीलाई प्राविधिक विषयमा स्नातक तह अध्ययनमा प्रोत्साहित गर्न छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

कालिञ्चोक गाउँपालिका क्षेत्रभित्रका विद्यार्थीहरूलाई प्राविधिक विषयमा स्नातक तहको अध्ययन गर्न एकमुष्ठ रू. ७५ हजार प्रोेत्साहन छात्रवृत्ति गाउँपालिकाले उपलब्ध गराउन लागेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । प्रोत्साहन स्वरूप प्रदान गरिने यो छात्रवृत्तिले प्राविधिक विषयमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई केही मात्रामा भए पनि राहत पुग्ने उनको विश्वास छ ।

छात्रवृत्ति पाउन सम्बन्धित विद्यार्थी कालिञ्चोक गाउँपालिका क्षेत्रभित्रको हुनुपर्ने तथा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको हुनुपर्ने गाउँपालिकाले बताएको छ । छात्रवृत्ति प्राप्त गर्न स्नातक तहमा भर्ना भएको रसीद, एसईईको प्रमाणपत्र तथा सम्बन्धित वडाको सिफारिस आवश्यक पर्ने गाउँपालिकाका इन्जिनीयर नारायण प्रसाद शिवाकोटीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७६/७७ को गाउँपालिकाको बजेटमा स्नातक तहमा प्राविधिक शिक्षा अध्ययन गर्नेलाई प्रोत्साहन स्वरूप छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएअनुरूप सो छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

इन्जिनीयरिङ, चिकित्सा शास्त्र, फार्मेसी, फरेस्ट्री, नर्सिङलगायत प्राविधिक विषयमा भर्ना भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।