अब सिँगटीबाटै नागरिकता, उत्तरी दुर्गम क्षेत्रका जनतालाई सुविधा

 आवाज संवाददाता     ८ भाद्र २०७३, बुधबार

दोलखा, ८ भदौ/जिल्लामा पहिलो पटक इलाका प्रशासन कार्यालय सिंगटीमा खुलेको छ । इलाका प्रशासन कार्यालय खुलेसँगै जिल्लाका उत्तरी क्षेत्रका जनतालाई सुविधा पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको प्रमुख आतिथ्यमा इलाका प्रशासन कार्यालय सिंगटीको उद्घाटन भएको हो । इलाका प्रशासन कार्यालय सिँगटीका प्रमुख देवराज लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा लामीडाँँडा गाविसकी १०२ वर्षीया हीरामाया उप्रतीले लामीडाँडा गाविसका हिमाल बुढाथोकीलाई नागरिकता दिएर सेवाको सुरुवात भएको छ । इलाका कार्यालय खुलेसँगै नागरिकता प्रमाणपत्र लगायतका सेवाका लागि दोलखाको उत्तरी क्षेत्रका १८ गाविसबासीले सिंगटीबाट सेवा प्राप्त गर्ने भएका छन् ।
तत्कालका लागि इलाका प्रशासनबाट नयाँ नागरिकताको प्रमाण पत्र वितरण हुनेछ । अब १८ गाविसबासीले नयाँ नागरिकता सिँगटीबाट र प्रतिलिपि लिन मात्र जिल्ला प्रशासन कार्यालय चरिकोट पुग्नुपर्ने भएको छ ।
अहिलेसम्म जिल्लाभरको नागरिकता प्रमाण पत्रको सम्पूर्ण काम जिल्ला प्रशासन कार्यालयबाटै हुँदै आएको थियो । इलाका प्रशासन कार्यालयका प्रमुख देवराज लुइटेलका अनुसार झ्याँकू, सुरी चंखू, मार्बू, खारे, गौरीशंकर, लामाबगर, ओराङ, लादुक, बुलुङ, चिलंखा, आलम्पू, बिगू, खोपाचागू, कालिञ्चोक, बाबरे, लामिडाँडा र लापिलाङ गाविसबासीले सिंगटीवाट नयाँ नागरिकता लगायतका सेवा पाउने छन् भने अन्य स्थानीय प्रशासनवाट पाउने सेवाहरु थपिँदै जानेछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।