म स्वस्थ छु, लक्षण विना नै कोरोना संक्रमण कसरी देखियोः चरिकोटमा कोरोना संक्रमित युवा

 आवाज संवाददाता     १८ असार २०७७, बिहीबार

दोलखा जिल्लाका थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरपालिका–३, स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको क्वारेन्टाइनमा रहेका भीमेश्वर नगरपालिका–७ का ३० बर्षिय युवालाई कोरोना संक्रमण देखिएको हो ।

आफ्नै ४८ हजारको टिकट काटेर कुवेतबाट असार १० गते काठमाण्डौं आईपुगेका ति युवा एकरात काठकाण्डौंकै होल्डिङ सेन्टरमा बिताएर असार ११ गते बिहिबार दोलखा आएका थिए । भीमेश्वर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा ८ दिनदेखि बसिरहेका ति युवा सहित ८ जनाको स्वाब संकलन गरेर असार १४ गते परीक्षणका लागि पठाईएकोमा बिहिबार असार १८ गते कोरोना संक्रमण देखिएको हो ।

ति युवासँग मोबाइल फोनमार्फत सञ्चारकर्मी रवीन्द्र गौतमले गरेको अन्तर्वार्ताः

क्वारेन्टाइनको बास कस्तो भईरहेको छ?
– खाना राम्रो छ, बस्नहरु सबै एकदम राम्रो छ । नगरपालिकाले क्वारेन्टाइनको लागि राम्रो व्यवस्थित गरेको रहेछ । बस्न सजिलो छ ।

तपाईलाई कोरोना संक्रमणको लक्षणहरुको बारेमा थाहा छ?
– थाहा छ । विदेशमा हुँदा मिडियाहरुमा धेरै हेरेको छु, थाहा छ । कम्पनीले पनि बेलाबेलामा जानकारी दिने गरेको थियो ।

तपाईलाई पीसीआर पोजेटिभ भएको कुरा थाहा पाउनु भयो?
– अँ, थाहा पाएँ, यहाँ मामाले भन्नु भयो ।

तपाईलाई कोरोना संक्रमणको लक्षणहरु केही छन् त?
– त्यस्तो लक्षण केही पनि छैन सर मसँग, हामी सँगै ४ जना सँगै बसेर सँगै खाईरहेका छौँ । राम्रौसँग खाएर बसेका छौँ, स्वस्थ छु । चारैजना सँगै छौँ, अरुहरुसँग बुझ्दा पनि हुन्छ । मलाई त्यस्तो केही पनि भएको छैन ।

कोरोना संक्रमण भएको थाहा पाए पछि सँगै बस्नेहरुले कस्तो व्यवहार देखाएका छन्
– हामी सबैजना सँगै आएका हौं । अहिले पनि सँगै छौं । नराम्रो कुनै पनि व्यवहार गर्नु भएको छैन ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि डाक्टर, प्रशासन लगायतका कोही भेट्न आएनु भयो त?
– कोही पनि आउनु भएको छैन । खाना खाने बेला हुन लाग्यो । पछि आउनु हुन्छ कि !

कस्तो महशुस गरिरहनु भएको छ?
–कोरोना संक्रमण हुनलाई देखिनु पर्ने कुनै पनि लक्षणहरु मलाई छैन । मलाई केही भएकै छैन । म स्वस्थ छु । कसरी रिपोर्ट पोजेटिभ आयो । मलाई केही भएको पनि छैन र केही हुँदैन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।