दोलखाका ३६ सडकलाई अस्थायी रुटपरमिट सिफारिस

 आवाज संवाददाता     ८ भाद्र २०७३, बुधबार

जिल्लाको ३६ कच्ची सडकमा सवारी सञ्चालनका लागि अस्थायी रुट परमिट दिन जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी बागमतीमा सोमबार चलानी नं. ४८८ मार्फत जिल्लाको ३६ ओटा कच्ची सडकलाई अस्थायी रुट परमिट दिन सिफारिस गरेको हो । कच्ची सडकहरुमा सरकारले वस सञ्चालनका लागि इजाजत नदिएपछि दोलखाका दुर्गम क्षेत्रका नागरिकहरुले सास्ती भोग्न बाध्य छन् । प्रशासनले मौसमी र बर्षैभरी चल्ने सहित दुई भागमा विभाजन गरेर सडकहरुको सिफारिस गरेको छ ।
जिल्ला भित्र रुट कायम नभएका तर यातायातका साधनहरु संचालन भईरहेका वा हुन सक्ने हैसियत भएका माटे, ग्राभेल, कालोपत्रे सडकहरु सहित ३६ सडकहरुमा अस्थायी रुट परमिट दिन सिफारिस गरिएको दोलखाको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।
सरकारले कच्ची सडकमा यात्रुवाहक सवारी सञ्चालनका लागि अनुमति नदिएको र अनुमति विना सवारी सञ्चालनमा आएकाले दुर्घटनाको जोखीम बढेको भन्दै गएको शुक्रवारदेखि जिल्ला ट्राफिक कार्यालय दोलखाले जिल्लाका कच्ची सडक र रामेछाप पुग्ने पुष्पलाल मार्ग लगायतका क्षेत्रमा जाने सवारी साधनमा रोक लगाएको छ ।
डिभिजन सडक कार्यालय र जिल्ला विकास समितिसँग समन्वय गरी सडकको अवस्थाको बारेमा सिफारिस गरे तापनि कतिपय बाह्रै महिना सञ्चालन भइरहेका कालोपत्रे र ग्राभेल सडक समेत मौसमी सडकको रुपमा सिफारिस भएको छ । २० वर्षदेखि वर्षैभरी सञ्चालन भइरहेको चरिकोट–दोलखा, तामाकोसी–मिल्ती कालोपत्रे सडक हुन् । जिरी–ठोसे, चरिकोट–दोलखा(बाइपास), चरिकोट–महांकाल, चरिकोट–जिरी पनि वर्षैभरी सञ्चालन भइरहेका सडक हुन् ।
त्यसैगरी हिउँदमा मात्र सञ्चालन भएको भीरकोट–हावा सडकलाई भने वर्षैभरी सञ्चालन हुने सडकको रुपमा सिफारिस गरेको छ । अस्थायी रुट परमिटको लागि सिफारिसमा परेका सडकहरु चरिकोट–दोलखा, दोलखा–सिंगटी, सिंगटी–लामाबगर, सिंगटी–बुलुङ–ओराङ, सिंगटी–ओराङ, सुनखानी–बाबरे, नाम्दु–जुँगु–झ्याँकु, बुस्ती–पुतलीकाठ–लहरेमाने, खावा–छाँैडे, भीरकोट–गैरीमुदी–छौँडे–हावा, भीरकोट–शहरे–हावा, घ्यावापानी–सेरा–सुर्के–निगाले, नयाँपुल–पवटी–भेड्पु, मुडे–मेलुङ, निगाले–बागखोर–भुषाफेदा, भोर्ले–मार्बु, सिद्दाकोथान–जुँगु–झ्ँयाकु, जिरी–माली–श्यामा, मैनापोखरी–बगर–मिर्गे–जोरमाने, सितली–मेलुङ–डाँडाखर्क, सिम्टे–भैंसे, फस्कु–निगाले, देउराली–ढुंगे–शैलुङ, सिंगटी–पोखरे–गोगने, सोरुङ–चिलंखा–विगु, चरिकोट–कुरी–कालिञ्चोक, मालुखोला–गोलेगाउँ, बागखोर–विरेन्द्र मावि, चरिकोट–महाङ्काल, भटमासे–जिलु, दोलखा–नागदह, चरिकोट–दोलखा बाइपास, सोती–निवारे, बञ्चरे–पोखरे, तामाकोशी–मिल्ती, जिरी–ठोसे रहेको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए ।
सडक यातायात बन्द हुँदा नागरिकहरु २० वर्ष अघिकै जस्तै सास्ती भोग्दै हिड्न बाध्य छन् । दोलखाका नागरिक समाजका प्रतिनिधिहरुले यातायात, पुर्ननिर्माण लगायतका समस्या तत्काल समाधान गर्न दबाब दिएका छन् । नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै यातायातको समस्या सुल्झाइ वर्षौदेखि सञ्चालन हुँदै आएको बस सेवा सुचारु गर्न माग गरेका हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।