सिनर्जी पावर कम्पनीको सेयर संकलन आइतबारबाट बन्द हुने

 आवाज संवाददाता     ८ भाद्र २०७३, बुधबार

 

सिनर्जी पावर कम्पनीको सेयर संकलन आइतबारबाट बन्द हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको सेयर आवश्यकताभन्दा बढी संकलन भइ सकेकाले आइतबारबाट संकलन कार्यबन्द गर्न लागेको हो ।
सिनर्जी पावरले दोलखाको गौरीशंकर र खारे गाविसको सिमाना भएर बग्ने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट साँढे २ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रभावित गाविस गौरीशंकर, खारे, लामाबगर, ओराङ, लादुक, बुलुङ, चंखु, मार्बू, र सुरी गाविसबासीका लागि साधारण सेयर लगानीका लागि खुल्ला गरेको थियो ।
सिनर्जीले सेयर संकलनका लागि स्थानीयका लागि पायक पर्ने गरी जगत र सिंगटीबाट सेयर संकलन गरेको थियो । काठमाडौं बस्ने स्थानीयहरुका लागि समेत स्थानीय सरोकार समितिको समन्वयमा काठमाडौंबाट समेत सेयर भर्ने सुविधा राखेको थियो ।
सिनर्जी पावरका लेखा प्रमुख सुजन पौडेलका अनुसार बुधबारसम्ममा ११ करोडभन्दा बढीको सेयर संकलन भइ सकेको छ । स्थानीयस्तमा सेयरप्रतिको चेतना कम भएकाले ३ करोड बढीको सेयर संकलन नभए तापनि काठमाडौं बस्ने स्थानीयहरुबाट सेयर संकलन बढी भएको उनले बताए ।
कम्पनीले स्थानीयका लागि न्यूनतम् ५० कित्ता र अधिकतम ५ सय कित्ता लगानीको अवसर दिएको थियो । स्थानीयलाई रु. १०० को ७ लाख कित्ता सेयर जारी गरे तापनि ११ लाख कित्ताभन्दा बढीको सेयर आवेदन परेको उनले बताए । स्थानीयस्तरमा भने अधिकाँशले न्यूनतम् कित्ता सेयर भरेका छन् ।
स्थानीयका लागि सेयर साउन १६ गतेबाट खुल्ला गरिएको थियो । छिटोमा साउन ३१ र ढिलोमा भदौ १९ गते सम्म सेयर आवेदन खुल्ला गरिएको थियो ।
सिप्रिङ खोला प्रभावितका लागि खारे र गौरीशंकर गाविसलाई ५ प्रतिशत फ्रि सेयर समेत उपलब्ध गराएको छ । उक्त सेयर गाविसको नाममा राखेको छ । सिप्रिङ खोला अघिल्लो वर्षको विनासकारी भुकम्पे क्षति भए तापनि गत जेठबाट मर्मतपछि सञ्चालनमा आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।