लकडाउनले दोलखामा साढे ५ सय चिठी अलपत्र

 आवाज संवाददाता     ७ श्रावण २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

साउन ७, दोलखा । लकडाउनको कारण जिल्ला हुलाक कार्यालय दोलखामा दर्ता भएको साढे ५ सय चिठीको वितरण अलपत्र परेको छ ।

आप्mनै स्रोत नभएको तथा सार्वजनिक यातायातको भरमा सञ्चालित दोलखाको हुलाक कार्यालयमा लकडाउनपछि दर्ता भएको पाँचसय ५० ओटा चिठी वितरण हुन नसकेर थन्केर बसेको हो ।

२०७६ चैत ११ यता दोलखाका विभिन्न हुलाक कार्यालयमा दर्ता भएकोमध्ये देशभर वितरण गर्नु पर्ने साढे ५ सय चिठी थन्केर बसेको जिल्ला हुलाक कार्यालय दोलखाकी प्रमुख शान्ता कडरियाले बताईन् ।

जिल्ला बाहिर चिठीपत्र पठाउने एकमात्र सार्वजनिक यातायात बन्द हुनुले ति चिठीहरु वितरण हुन नसकेको प्रमुख कडरियाले बताईन् । लकडाउनको ११८ दिनदेखि रामेछाप बाहेकका जिल्लाहरुको थुप्रिएर बसेको साढे ५ सय चिठीपत्रको वितरण हुन नसकेको प्रमुख कडरियाले बताईन् ।

जिल्लाको आन्तरिक चिठीपत्रहरु र रामेछाप जिल्लाको वितरण भईसकेको भए पनि गोश्वारा हुलाक पठाउनु पर्ने चिठीपत्रहरु थन्किएर बसेको उनले बताईन् । सरकारीदेखि बैंक तथा वित्तिय संस्थाहरु तथा अन्य विभिन्न महत्वपूर्ण चिठीपत्रहरु थन्किएर बसेको छ ।

राष्ट्रिय बाणिज्य बैंक चरिकोट शाखाका प्रवन्धक निरोज श्रेष्ठले विभिन्न आन्तरिक कागजात, कालोसूची लगायतका पत्रहरु हुलाकमार्फत पठाईएको र वितरण नहुँदा केहि समस्या भएको बताए । लकडाउन खुलेर सार्वजनिक बस सञ्चालनमा आएलगत्तै सबै चिठीपत्रहरु एकैपटक पठाईने प्रमुख कडरियाले बताईन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।