बैकल्पिक सिकाईका लागि भीमेश्वरले ८ हजार विद्यार्थीहरुलाई बाँढ्यो ‘वर्कसिट’
आवाज संवाददाता १५ श्रावण २०७७, बिहीबार
रवीन्द्र गौतम । दोलखा
साउन १५, चरिकोट । कोरोना भाईरसको महामारीको कारण गरिएको लकडाउनले सिकाईमा पारेको प्रभावलाई न्यूनीकरण गर्नको लागि भीमेश्वर नगरपालिकाले स्वअध्ययनका लागि वर्कसिट वितरण सुरु गरेको छ ।
चालु शैक्षिक सत्र सुरु हुनु एकमहिना पूर्वको अवधिदेखि सुरु भएको लकडाउनले विद्यालय तहमा रोकिएको शैक्षिक गतिविधिलाई पुन सञ्चालनमा ल्याउनको लागि नगरपालिकाले स्वअध्ययनको माध्यम अपनाएको हो ।
४२ ओटा सामुदायिकका ३१० र १३ ओटा नीजि विद्यालयका करिब दुईसय शिक्षकहरुलाई टोल–टोल, घर–घरमा खटाएर नगरपालिकाले छापेको वर्कसिट प्रत्येक विद्यार्थीलाई उपलब्ध गराईएको भीमेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत अर्जुन कार्कीले बताए ।
एकसेट वर्कसिटमा अंग्रेजी, नेपाली, विज्ञान, गणित र सामाजिक गरी पाँचवटा विशेष समेटिएका अध्यासहरु समेटिएको शाखा अधिकृत कार्कीले जानकारी दिए ।
शिक्षकहरुले हरेक आइतबार विद्यार्थीहरूको घर वा टोलमा गएर वर्कसिट उपलब्ध गराउने र अर्को आइतबार गएर सो वर्कसिटको अनुगमन तथा संकलन दोस्रो वर्कसिट उपलब्ध कार्ययोजना रहेको उनले जनाए ।
लकडाउनको अवधिमा विद्यार्थीहरुको अध्ययनको स्तर कस्तो रहेछ भन्ने विश्लेषण गरी थप योजनाहरु बनाईने भीमेश्वर नगरपालिकाका प्रवक्ता हरिवंश चौंलागाईले जानकारी दिए ।
अंग्रेजी २०, नेपाली २०, बिज्ञान २०, गणित २० र सामाजिक २५ गरी १०५ पूर्णाङ्कको एकहप्ते वर्कसिट विद्यार्थीहरुलाई उपलब्ध गराईएको उनले बताए । वर्कसिटमा सोधिएको प्रश्नको आधारमा विद्यार्थीहरुले कम्तिमा पाठ्यपुस्तक पढ्ने र लेख्ने बानीको विकास गराउने उद्देश्यल रहेको प्रवक्ता चौंलागाईंको भनाई छ ।
लकडाउनको अवधिमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गराउने कार्यको लागि कोभिड–१९ शीर्षकबाट अघिल्लो आबको रु. तीनलाख बजेटबाट सो कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
साउन ११, १८ र २५ गते आइतबार विद्यार्थीहरुलाई वर्कसिट उपलब्ध गराईने कार्यतालिका बनेको छ । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुले बर्कसिटमै लेख्ने र कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले कपिमा लेखेर बुझाउने व्यवस्था गरेको शाखा अधिकृत कार्कीले बताए ।
सामुदायिक विद्यालयका करिब ५ हजार र नीजि विद्यालयका करिब ३ हजार गरी करिब ८ हजार विद्यार्थी रहेका भीमेश्वर नगरपालिकाको अघिल्लो शैक्षिक सत्रको शिक्षण सिकाइ उपलब्धि औसत ६० प्रतिशत रहेको तथ्याङ्क छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।