दोलखाका बाढी पहिरो प्रभावितलाई बागमती प्रदेशको ६० लाख

 आवाज संवाददाता     २६ श्रावण २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

साउन २६, काठमाण्डौं । बागमती प्रदेश सरकारले दोलखाका बाढी पहिरो प्रभावित ३ स्थानीय तहलाई ६० लाख रकम उपलब्ध गराउने भएको छ ।

बागमती प्रदेश विपद् ब्यवस्थापन निर्देशक समितिको साउन २६ गतेको निर्णय अनुसार चालु आर्थिक बर्षको बजेटमध्येबाट सो रकम उपलब्ध गराईने भएको हो ।

समितिको साउन २६ गतेको बैठकले बाढी पहिरो प्रभावित दोलखाका तीन स्थानीय तहलाई तत्काल ६० लाख रुपैया राहतका लागि उपलब्ध गराउने निर्णय गरेको दोलखा क्षेत्र नम्बर–१ का प्रदेशसभा सदस्य विशाल खड्काले बताए ।

प्रदेश सरकारले उपलब्ध गराउने रकमबाट बाढी पहिरो पीडित लाई थोरै भए पनि राहत पुग्ने उनको आशा छ ।

बागमती प्रदेश विपद् व्यवस्थापन समितिको निर्णयअनुसार बाढी पहिरो प्रभावित दोलखाका गौरीशंकर, विगु र कालिञ्चोक गाउँपालिकालाई जम्मा ६० लाख तत्कालका लागि राहत तथा उद्धारमा खर्च गर्नका लागि निकासा गर्ने निर्णय भएको हो ।

चालु आवमा दोलखाको सबैभन्दा बढि प्रभावित गौरीशंकर गाउँपालिकालाई ३० लाख रुपैयाँ उपलब्ध गराईएको छ । यसै गरी विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिकालाई १५\१५ लाख उपलब्ध गराईएको बागमती प्रदेश विपत ब्यवस्थापन निर्देशक समितिको निर्णयमा उल्लेख छ ।

दोलखाका गौरीशंकर, कालिञ्चोक तथा विगू गाउँपालिकाका क्षेत्रहरु बाढी तथा पहिरोको बढी जोखिममा रहेका छन् । साउन २२ गते परेको अविरल वर्षा पछि आएको बाढी पहिरोमा परी गौरीशंकर गाउँपालिका–८, खारेको टुनिटारमा एक जनाको मृत्यु हुनुको साथै २१ घरका ६० जना विस्थापित भएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।