काँग्रेस दोलखाले घरमै भेट्यो मृतकको परिवार, बाढीपहिरो प्रभावितलाई २ लाख १० हजार सहयोग

 आवाज संवाददाता     २७ श्रावण २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

साउन २७, चरिकोट । नेपाली काँग्रेस दोलखाले गौरीशंकर गाउँपालिकाको पहिरो प्रभावित तथा मृतक परिवारलाई छुट्टाछुट्टै भेटेर मंगलबार नगद सहयोग गरेको छ ।

साउन २२ गते गौरीशंकर गाउँपालिका–८, खारेको टुनिटार पहिरोमा परेर मृत्यु भएका कालिञ्चोक गाउँपालिका–८ सुनखानीका २८ बर्षिय सुरेश शिवाकोटीको परिवारलाई घरमै भेटेर काँगे्रस दोलखाले नगद रु. १० हजार सहयोग गरेको काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए ।

सभापति खड्का सहित नेपाली काँग्रेस गौरीशंकर गाउँपालिका सभापति श्यामसुन्दर तामाङ लगायतले मृतकको भाई सन्देश शिवाकोटीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

काँग्रेस प्रतिपक्षमा रहेको भए पनि यथासक्य सहयोग गर्न पछि नपर्ने भन्दै सभापति खड्काले मृतकको परिवारलाई सान्त्वना दिएका थिए ।

त्यसै गरी वडा नम्बर ८ खारेको टुनिटार पहिरो प्रभावितमध्ये पूर्णक्षति भएका ३ घरधुरीलाई १० हजारको दरले ३० हजार, आंशिक क्षति भएका १० घरधुरीलाई ५ हजारको दरले ५० हजार नगद सहयोग गरेको गाउँपालिका सभापति तामाङले जानकारी दिए ।

त्यसैगरी वडा नम्बर ६ चंखु गुरुम्फीका बाढी प्रभावितहरुमध्ये पूर्णक्षति भएका ६ घरधुरीलाई १० हजारको दरले ६० हजार, आंशिक क्षति भएका १० घरधुरीलाई ५ हजारको दरले ५० हजार नगद सहयोग गरेको जिल्ला सभापति खड्काले बताए ।

काँग्रेसले गौरीशंकर गाउँपालिका–६ र ८ जोड्ने पुल मर्मतको लागि पनि नगद रु. १० हजार सहयोग गरेको सभापति खड्काले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।