छिमेकी गाउँपालिकामा संक्रमित भेटिएपछि सिंगटीबजार अनिश्चितकालीन बन्द

 आवाज संवाददाता     ३० श्रावण २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

साउन ३०, दोलखा । छिमेकी २ गाउँपालिकामा ३ जना कोरोना संक्रमित भेटिएपछि उत्तरी दोलखाको मुख्य व्यापारिक केन्द्र सिंगटीबजार बन्द गरिएको छ ।

कालिञ्चोक गाउँपालिकामा एक र गौरीशंकर गाउँपालिकामा २ जना गरी कूल ३ जनामा कोरोना भाईरस संक्रमित भेटिए पछि दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाले शुक्रबार एक विज्ञप्ती जारी गरी सिंगटीबजार बन्द गरिएको हो ।

छिमेकी दुई गाउँपालिकामा कोरोना संक्रमित भेटिए पछि सिंगटीबजार उच्च जोखिममा परेकोले अत्यावश्यक सेवा बाहेक बन्द गर्न अनुरोध गरेको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठले बताए ।

दुईओटै गाउँपालिकाको मुख्य बजार सिंगटी भएको र संक्रमितसँग सम्पर्क भएका व्यक्तिहरु बजार आउन सक्ने भएकोले पूर्वसावधानीको लागि बजार बन्द गर्न बाध्य भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

कालिन्चोक गाउँपालिका–३, लामिडाँडामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका एकजना पुरुषमा विहिबार कोरोना संक्रमण देखिएको थियो ।

मंगलबार मात्र तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेको एक र गाउँपालिकाका एक कर्मचारी गरी गौरीशंकर गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म जिल्लाका ५३२ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये ३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।