कोरोनाको ‘हटस्पट’ बन्दै गौरीशंकर गाउँपालिका, जिल्लाका ११ मध्ये ९ जना गौरीशंकरका मात्रै

 आवाज संवाददाता     ३० श्रावण २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

साउन ३०, चरिकोट । दोलखामा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको पछिल्लो ३ दिनको तथ्याङ्कअनुसार गौरीशंकर गाउँपालिका संक्रमितहरुको ‘हटस्पट’ बन्दै गईरहेको छ ।

उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको दुईजनालाई कोरोना संक्रमण भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ५ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाभित्रकै कूल ११ संक्रमितहरुमध्ये २ महिलासहित ९ जना गौरीशंकर गाउँपालिकाकै रहेका छन् ।

दुई जनाको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरि धुलिखेल अस्पतालमा परीक्षण गर्दा एकमहिला र ४ पुरुष गरी ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

काठमाण्डौंमा परीक्षण गरेका गाउँपालिका अध्यक्ष र धुलिखेल अस्पतालमा परीषण गरिएको उपाध्यक्षलाई भने संक्रमण नदेखिएको स्रोतले जनाएको छ ।

स्रोतको अनुसार गाउँपालिकाका तीन सवारी चालकमध्ये एकजनामा कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाका कर्मचारी २ जना, स्थानीय एकजना, गाउँपालिकाका सहयोगी सेवाप्रदायक संस्थाका एकजनालाई संक्रमण भएको स्रोतले जनाएको छ । तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा रहेका एक र गाउँपालिकाका एक कर्मचारी गरी दुई पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएको थियो ।

तेस्रो मुलुकबाट आएका ति संक्रमित क्वारेन्टाइनमै रहेको र कर्मचारी पनि गाउँपालिकाको आवासमै आईसोलेसनमा रहेको बताईएको छ । यसअघि पनि सोही गाउँपालिकाकै दुईजनमा कोरोना संक्रमण देखिएको थियो ।

हालसम्म जिल्लाका ५३२ जनाको पीसीआर परीक्षण गर्दा २ महिलासहित ११ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।