कोरोना सतर्कताको लागि युवा सञ्जाल जिरीद्वारा स्थानीयलाई ५०० थान मास्क वितरण

 आवाज संवाददाता     २ भाद्र २०७७, मंगलवार

भदौ २, जिरी । युवा सञ्जाल जिरीले जिरी नगरपालिकाको लिङ्कन बजार र मानेडाँडा क्षेत्रमा मंगलबार मास्क वितरण गरेको छ । पछिल्लो समय नेपालमा व्यापक रुपमा बढिरहेको कोरोना भाईरस (कोभिड–१९)को सतर्कताको लागि जनचेतना जगाउने उद्देश्यले सो क्षेत्रमा मास्क वितरण गरिएको हो ।

नगर क्षेत्रको अधिक भिडभाड हुने लिङ्कन र मानेडाँडा बजारक्षेत्रमा ईलाका प्रहरी कार्यालय जिरीको टिम सहितको सहभागितामा मंगलबार २ घण्टासम्म मास्क नलगाई हिँडडुल गर्ने करिव ५०० जनालाई कोरोनाको जोखिम बारे सचेत गराउँदै मास्क वितरण गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले बताए ।

सञ्जालले ३०० र शहिद स्मृति आवासिय मावि जिरीले २०० थान गरी ५०० थान मास्क वितरण गरेको सञ्जालका अध्यक्ष खड्काले बताए । मास्क वितरण सँगसँगै सचेतनामूलक पम्प्लेट पनि बजार क्षेत्रका विभिन्न स्थानमा टाँसिएको उनले बताए ।

सञ्जालका प्रतिनिधि एवं प्रहरीहरुको संयूक्त टोलीले मास्क वितरणको क्रममा अत्यावश्यक काम बाहेक बजारक्षेत्रमा अनावश्यक रुपमा हिँडडुल नगर्न अनुरोध गर्दै घरमै सुरक्षित रुपमा बस्न समेत अपिल गरेको छ ।

सञ्जालले बजारक्षेत्रका होटल तथा पसलहरु बिहान १० बजेसम्म मात्र खोल्न र सामान खरिद विक्रीको क्रममा पनि अनावश्यक भिडभाड नगर्न आग्रह गरेको उनले बताए ।

लकडाउनको अटेर गरेर मास्क नलगाई हिँडडुल गरेमा तथा तोकिएको समयभन्दा बाहेक होटल पसल खोलेमा ईलाका प्रहरी कार्यालयले पटकै पिच्छे रु १०० का दरले जरिवाना गर्ने ईलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक प्रदीप पौडेलले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै वढेपछि गएको श्रावन ३१ गतेदेखि भदौ ६ सम्मको लागि प्रशासनले एकहप्ते निषेधाज्ञा जारी गरेको छ ।

जिरीस्थित सम्पूर्ण सरकारी कार्यालय लगायत वित्तिय संस्थाहरु समेत एक साताका लागि बन्द भएका छन् भने ईपकाले पनि निषेधाज्ञालाई कडा पार्दै संक्रमणबाट सुरक्षित रहन र नेपाल सरकारबाट जारी निर्देशनहरुको पालना गर्न बजारक्षेत्रमा निरन्तर माईकिङ गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।