फेरि थपिए गौरीशंकरमै ४ संक्रमित, दोलखामै कोरोना संक्रमितको संख्या १५ पुग्यो

 आवाज संवाददाता     ५ भाद्र २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

भदौ ५, चरिकोट । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामै ४ जना कोरोना संक्रमित थपिएका छन् । गतहप्ता मात्र ७ जनामा कोरोना संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले थप ४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

७ जनाको सम्पर्कमा पुगेका १४१ जनाको स्वाब परीक्षण गर्दा २ महिला र २ पुरुष गरी थप ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

जिल्ला भित्रैबाटै संकलित स्वाबमध्येबाट कूल १५ संक्रमित भएकामध्ये ४ महिलासहित १३ जना गौरीशंकर गाउँपालिकाकै रहेका छन् ।
हालसम्म जिल्लाका करिब एकहजार जनामा पीसीआर परीक्षण गर्दा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा सुरुमा सोही गाउँपालिकामा तेस्रो मुलुकबाट आएका एकमहिला र एकपुरुषमा संक्रमण देखिए पछि काठमाण्डौंमा उपचारपछि घर फर्किएका छन् भने भीमेश्वर नगरपालिकाको क्वारेन्टाइनमा रहेको एक पुरुष पनि उपचारपछि घर फर्किएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।