भीमेश्वर नगरको २८ लाख अनियमितताः अख्तियारको ४ तहबाट छानवीन सुरु

 आवाज संवाददाता     ९ भाद्र २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

भदौ ९, दोलखा । भीमेश्वर नगरपालिकाले उपभोक्ता समितिसँग मिलेर गरेको २८ लाख अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३ ओटा छुट्टाछुट्टै निकायले छानवीन सुरु गरेको छ ।

गत आर्थिक बर्षमा सम्पन्न खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण उपभोक्ता समितिसँग मिलेर भीमेश्वर नगरपालिकाले २८ लाख रुपैयाँभन्दा बढि अनियमितता गरेको समाचारहरु प्रकाशन भएको दुईहप्तापछि उपभोक्ताकै उजुरीको आधारमा आयोगको ४ ओटा निकायले छुट्टाछुट्टै छानवीन सुरु गरेको हो ।

अख्तियारको स्थानीय प्रतिनिधि जिल्ला प्रशासन कार्यालय दोलखा, आयोगको बर्दिबास तथा हेटौंडा कार्यालय र टंगालस्थित कार्यालयहरुबाट छानवीन सुरु भएको हो ।

प्रशासन कार्यालय दोलखाले सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकेर छानवीन गरी एकहप्तामा प्रतिवेदन बुझाउन आदेश गरेको छ ।

अन्य कार्यालयहरुले भने प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन गरी छानवीन गर्ने स्रोतले जनाएको छ । स्रोत भन्छ, पत्राचार भईसकेको छ, वन्दाबन्दी र निषेधाज्ञाको कारण केही ढिलाई भएको हो ।

बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रम (प्रदेश सांसद विकास कोष)अन्र्तगत भीमेश्वर नगरपालिका–६, चरिकोटस्थित खोरथली सामुदायिक वनमा खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिसँग मिलेर २८ लाखभन्दा बढि अनियमितता गरेको खुल्न आएको हो ।

आर्थिक बर्ष २०७६÷७७ मा ३२ लाखको निर्माण सम्पन्न गरेको सो उपभोक्ता समितिलाई नगरपालिकाले ६० लाख ५ हजार तीनसय ९८ रुपैयाँको कार्य सम्पन्न मूल्याङ्कन प्रतिवेदन बनाई निर्माण सम्पन्नभन्दा २८ लाख ५ हजार तीनसय ९८ रुपैयाँ बढि भुक्तानी दिईएको खुलेको छ ।
नगरपालिकाले १२ लाख ७३ हजार पाँचसय ६० रुपैयाँ उपभोक्ता लागत सहभागिता र कन्टीन्जेन्सी एकलाख ८० हजार एकसय ६२ रुपैयाँ कटाएर उपभोक्ता समिति व्यवस्थापन खर्च २५ हजार थप गरी २०७७ असार २९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखामार्फत खुद ४८ लाख ५० हजार भुक्तानी गरेको थियो ।

भुक्तानी गरेको लगत्तै ४ दिनपछि २०७७ साउन २ गते नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काद्वारा हस्ताक्षरित चलानी नं. ८ को पत्रमार्फत लक्ष्मी बैंक चरिकोट शाखालाई पत्राचार गरी उपभोक्ता समितिको खाता रोक्का गर्न आदेश गरिएको छ ।

कुनै पनि कारण उल्लेख नगरि सो पत्रमा उपभोक्ता समितिको खाता नम्बर ०२६११०१५४१३ मा रहेको रकममध्ये ३२ लाख उपलब्ध गराई बाँकी रकम रोक्का गरिदिनु भन्ने उल्लेख छ ।

सम्पन्न गरेको कामअनुसारको ३० लाख रुपैयाँ भुक्तानी लिईएको खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण उपभोक्ता समितिले यसअघि नै स्वीकार गरिसकेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।