लामाबगर सहित ५ वर्षभित्र उत्तर–दक्षिण जोड्ने १० वटा व्यापारिक सडक विस्तार गरिने

 आवाज संवाददाता     १२ भाद्र २०७३, आईतवार

आगामी ५ वर्षभित्र सरकारले उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण १० व्यापारिक सडक विकास गर्ने भएको छ । यातायात विकासको पाँचवर्षे रणनीतिक योजनामा समावेश यी सडक विकास गर्न वार्षिक बजेटसमेत विनियोजन भइसकेको छ ।

यी सडक तयार भएपछि उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीचको व्यापार एवं पारवहनमा थप सहज हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको रणनीतिपत्रमा यी सडक प्राथमिकताका साथ अघि बढाइने उल्लेख छ ।

भिट्टामोड–ढल्केबर–सिन्धुली–मन्थली–दोलखा–सिंगटी–लामाबगर–लप्ची (३१० किमी)  सडकको लामावगर–लप्ची सडकको बाँकी १८ किमीमा ट्र्याक तथा करिव १ किलोमिटर सुरुङ  निर्माण ३ वर्षभित्र सम्पन्न गर्ने गरी मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

दोलखादेखि लामाबगरसम्म माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले ६८ किलोमिटर पहुँचमार्गको रुपमा ग्राभेल गरेको छ । त्यसमध्ये दोलखादेखि सिंगटीसम्मको ३५ किलोमिटर सडकको कालोपत्रे गर्न ठेकेदार समेत छनौट भइसकेको छ । पुरानो व्यापारिक मार्ग समेत भएको लामाबगरको नाका चाँडो खोल्न दोलखाबासीले पटक पटक माग समेत गर्दै आएका छन् ।

यही सडकखण्डमा पर्ने नयाँपुल–सिंगटी खण्डको १५ किलोमिटर) ट्र्याक निर्माण कार्य २ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । कुल ३१० किलोमिटर सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने काम कार्य ३ वर्षमा प्रारम्भ गर्ने मन्त्रालयले जनाएको छ ।

कोसी करिडोरअन्तर्गत रानी–विराटनगर–इटहरी–धनकुटा–लेगुवाघाट—खाँदबारी–किमाथांका (३१०  किलोमिटर) सडक आउँदो ४ वर्षभित्र दुईलेनमा विस्तार हुँदैछ । यो कोरिडोरमा ८४  किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी छ ।

यो काम दुई वर्षमा सम्पन्न गरी पूर्वी  क्षेत्रमा उत्तर–दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्गको रुपमा प्रयोगमा ल्याउने सरकारी योजना छ ।

यस्तै, बेलहिया–भैरहवा–पाल्पा–राम्दी–कालीगण्डकी–रुद्रवेनी–मालढुंगा–बेनी–जोमसोम–चैले–कोरला (३९० किमी) मध्ये राम्दी–कालीगण्डकी–रुद्रवेनी–मालढुंगा–बेनी–जोमसोम (२०२  किमी) सडक २ लेनको कालोपत्रे स्तरमा ३ वर्षभित्र स्तरोन्नति गर्ने गरी बजेट विनियोजन भएको छ ।

चीनसँगको व्यापारमा सहजीकरण गर्ने गरी जोमसोम–कोरला  (१०० किलोमिटर) सडक दुई लेनको ग्राभेल स्तरमा दुई वर्षभित्र स्तरोन्नति हुनेछ ।

यसैगरी ठोरी–भण्डारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेसी–रसुवागढी (१८८ किलोमिटर) सडकको गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेसी–रसुवागढी (८२ किलोमिटर) खण्ड दुई लेनको  कालोपत्रे स्तरमा २ वर्षभित्र निर्माण तथा  स्तरोन्नति हुँदैछ । ठोरी–भण्डारा–मलेखु (१०६  किलोमिटर) २ लेनको कालोपत्रे स्तरमा निर्माण तथा स्तरोन्नतिको काम ५ वर्षमा सम्पन्न गरी  भारत–चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

मुलुककै प्रमुख उत्तर–दक्षिण करिडोर एवं छिमेकी दुई देशसँग व्यापारका लागि प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज–हेटौंडा–नारायणघाट–मुग्लीङ–काठमाडौं–धुलिखेल–दोलालघाट–बाह्रविसे–कोदारी (३९०  कि.मि.) सडकको धुलिखेल–दोलालघाट–बाह्रविसे  (६२ किलोमिटर) खण्डलाई ४ लेनमा र बाह्रविसे–कोदारी खण्ड (२५ किलोमिटर) लाई २ लेनमा स्तरोन्नति गर्ने  काम ५ वर्षमा सक्ने सरकारी योजना छ ।

वीरगन्ज–काठमाडौं करिडोरअन्र्तगत पर्ने नारायणघाट–मुग्लिन खण्ड (३२ किलोमिटर) लाई २ लेनमा विस्तार गर्ने काम २ वर्षमा  सम्पन्न  गर्नुका साथै त्रिशूली नदीको अर्को किनारातर्फ ठिमुरा–मुग्लीङ (२७  किलोमिटर) दुईलेन सडक निर्माणकार्यको डीपीआर २ वर्षमा सम्पन्न गर्ने योजनामा उल्लेख छ ।

डीपीआर तयार भएपछि यो आयोजनाको लेन विस्तार तथा सुदृढीकरणको काम पाँच वर्षमा सम्पन हुनेछ ।

मध्यपश्चिमको जमुनहा–नेपालगन्ज–बांगेसिमल–खुलालु–लैफु–सिमिकोट–हिल्सा(५२१ किलोमिटर) को बाँकी १४३ कि.मि. ट्रयाक निर्माण गर्ने कार्य ५ वर्षमा सम्पन्न गरी कालोपत्रे स्तरमा स्तरोन्नतिको काम शुरु हुनेछ ।

अन्य महत्वपूर्ण उत्तर–दक्षिण सडकहरूको रुपमा  सालझण्डी—सन्धिखर्क—ढोरपाटन—बडहरे (१९५ किलोमिटर), बागलुङ—खारावाङ—तम्घास—सन्धिखर्क—भालुवाङ (२१०  किलोमिटर) तथा  दिक्तेल—सल्लेरी  (७५  किलोमिटर) सडकहरूको  विकास तथा स्तरोन्नति गर्ने कार्य ५ वर्षको अवधिमा प्रारम्भ गरिने सरकारको योजना छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण लुम्बिनी चक्रपथ ५०० कि.मि (लुम्बिनी—भैरहवा— त्रिवेणी—दुम्किवास—गैंडाकोट—राम्दी—रिडी—तम्घास—सन्धिखर्क—गोरुसिंघे—तौलिहवा—लुम्बिनी)  मध्ये ट्र्याक खुल्न बाँकी त्रिवेणी—दुम्किवास (२२ किलोमिटर) ट्र्याक खोल्ने कार्य ३ वर्षभित्र  सम्पन्न गर्नुका साथै  अन्य खण्डहरूको विस्तार एवं स्तरोन्नति गर्ने कार्य ५ वर्षमा सम्पन्न गर्ने गरी सरकारले योजना कार्यान्वयन अघि बढाएको छ ।

बृहत् लुम्बिनी गुरुयोजनाअन्तर्गतका तिलौराकोट—रामग्राम (७९ किलोमिटर) तथा मणिग्राम—देवदह—शीतलनगर (१९ किलोमिटर) सडकलाई २ लेनको कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने काम ३ वर्षमा सक्ने सरकारको लक्ष्य छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।