सरकारी कर्मचारीको दबाबको तालिमले एफएओका ४ कर्मचारी संक्रमित

 आवाज संवाददाता     १० भाद्र २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

भदौ १०, दोलखा । सरकारी कर्मचारीको चर्को दबाबले आयोजना गरिएको तालिममा सहभागीमध्ये राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)का ४ कर्मचारी कोरोना संक्रमित भएको खुलेको छ ।

खाद्य सुरक्षा र पोषणसँग सम्वन्धित नेपाल सरकारका बरिष्ठ कृषि अधिकृतको दबाबमा चितवनमा आयोजना गरिएको दुईहप्ते तालिममा दोलखाबाट सहभागी भएका एफएओका कृषि संकायका ३ महिला र एक पुरुष गरी ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सरकारले तालिम, गोष्ठी सञ्चालन र सामूहिक भोज गर्न प्रतिबन्ध लगाउँदा लगाउँदै १४ दिन लामो प्राविधिक सहायकस्तरका लागि ‘बाली उत्पादन कृषक पाठशाला सहजकर्ता प्रशिक्षक प्रशिक्षण’ले दोलखाका समुदायस्तरमा पनि कोरोना फैलाउन मद्दत गरेको अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको खाद्य तथा पोषण सुधार आयोजनाले साउनको १५ गतेदेखि २८ गतेसम्म ८ जिल्लाका ३२ जना सहभागी गराई आयोजना गरिएको तालिमका १२ जनालाई मंगलबारसम्ममा कोरोना संक्रमण पुष्टी भईसकेको छ ।

एफएओको स्थानीय साझेदार संस्था टुकी संघका एककर्मचारीका अनुसार तालिम नचलाउन गरेको अनुरोधलाई सरकारी कर्मचारीले नै बेवास्ता गर्दै दवाब सिर्जना गरेर सहभागी पठाउँदा संक्रमित भएर फर्किएका हुन् ।

तालिम लगायतको सेक्टर हेर्ने सरकारी कर्मचारीकै कारण एफएओले तालिम राख्न बाध्य भएको र सोही कारण कर्मचारी संक्रमित हुनु परेकोले लामो इतिहास बोकेको टुकी संघ पनि बद्नाम हुन पुगेको ति कर्मचारीको भनाई छ ।

दोलखामा एफएओको कार्यक्षेत्र तामाकोशी र कालिञ्चोक गाउँपालिका रहेको छ । कालिञ्चोक गाउँपालिकामा एफएओमार्पmत कार्यरत कोरोना संक्रमित महिला बिउ विजन बाँड्न समुदायसम्म पुगेकी कन्ट्याक्ट ट्रेसिङबाट खुल्न आएको छ ।

ति महिला लगायतको सम्पर्कमा पुगेका भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिका गरी ७२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ ।

एउटा सरकारीका कर्मचारीको भत्ता मोहले राज्यको ठूलो स्रोत र समय खर्च हुन पुगेकोमा चौतर्फी आलोचना भईरहेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले तालिम अत्यावश्यक कार्यभित्र नपर्ने हुँदा हुँदै पनि ति कर्मचारीको बद्नियतले राज्य र धेरै मान्छेले दुख पाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।