कुकुरले टोकेका र सम्पर्क भएका सहित ५१ लाई लगाईयो रेविज विरुद्धको भ्याक्सिन

 आवाज संवाददाता     १२ भाद्र २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

भदौ १२, दोलखा । डेढमहिना अघि छाडा कुकुरले टोकेका र उनीहरुको सम्पर्कमा पुगेका सहित ५१ जनालाई मेलुङ गाउँपालिकाले रेविज रोग विरुद्धको भ्याक्सिन लगाईदिएको छ ।

छाडा कुकुरले टोकेर रेविज रोगको कारण विभिन्न समयमा ३ जनाको मृत्यु भए पछि मेलुङ गाउँपालिका–५, ६ र ७ का ५१ जनालाई शुक्रबार रेविज रोग विरुद्धको भ्याक्सिन दिईएको हो ।

छाडा कुकुरले टोकेकामध्ये जीवित ७ जना र उनीहरुको सम्पर्कमा पुगेका सहित ५१ जनालाई शुक्रबार निशुल्क रेविज रोग विरुद्धको पहिलो डोजको भ्याक्सिन लगाईएको मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले बताए ।

मेलुङ गाउँपालिका र महामारी रोग नियन्त्रण महाशाखा टेकु अस्पतालका बिशेषज्ञ चिकित्सकहरुद्वारा रेविज रोग विरुद्धको भ्याक्सिन निशुल्क रुपमा लगाउने कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाको पहलमा निशुल्क लगाईएको भ्याक्सिनको दोस्रो र तेस्रो डोज भदौ १४ र १९ गते लगाईने तालिका रहेको अध्यक्ष श्रेष्ठले बताए ।

गत असार अन्तिम साता मेलुङ गाउँपालिका–६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो ।

त्यसमध्ये मेलुङ गाउँपालिका–६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारी, वडा नम्बर ५ का १५ वर्षीय सुरेश विक र बैतेश्वर गाउँपालिका–६, नाम्दु घर भई मेलुङ मामाघर बस्दै आएका ८ वर्षीय कुशल नेपालीको मृत्यु भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।