शर्तसहित दोलखामा लकडाउन खुकुलो, सिंगटीमा निषेधाज्ञा अझै कायमै

 आवाज संवाददाता     १५ भाद्र २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

भदौ १५, दोलखा । विभिन्न शर्तसहित दोलखामा लकडाउन खुकुलो गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विशेष स्वास्थ्य सुरक्षा अपनाउने शर्तसहित भदौ २२ गतेसम्म लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

दुई पांग्रे सवारी साधन बाहेक सबै प्रकारका चारपाँग्रे तथा सार्वजनिक यातायात संचालनमा निषेध गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

जिल्ला भित्रका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु, सबैप्रकारका भेला तथा समारोह, मन्दिरको नित्यपूजा बाहेकका दर्शनार्थिहरु, शैलुन तथा व्यटिपार्लरहरु र सिंगटी तथा आसपासका क्षेत्रको सरकारी तथा गैरसरकारी कार्यालय, बजार र पसलहरु सञ्चालनमा पूर्ण निषेध गरिएको प्रजिअ शर्माले जानकारी दिए ।

जनस्वास्थ्यका न्यूनतम मापदण्डको शर्तसहित जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुको सेवा सुचारु गरिने भएको छ ।

सिंगटी र आसपासका बजार पसलहरु बाहेक सदरमुकाम तथा अन्य क्षेत्रका बजार पसलहरु बेलुकी ८ बजेसम्म, विकास निर्माण, जलविद्युत आयोजना लगायत उद्योग कलकारखानाहरुमा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न दिने निर्णय भएको प्रजिअ शर्माले जानकारी दिए । यस्तै होटल तथा रेष्टुरेन्टहरु सामान किनेर लैजाने (टेक अवे) सेवा मात्र संचालन गर्न दिईनेछ ।

सिंगटीमा निषेधाज्ञा अझै कायमै
उत्तरी दोलखाको ३ स्थानीय तहको मूख्य व्यापारिक नाका सिंगटीमा भने निषेधाज्ञा कायम रहेको प्रजिअ शर्माले जानकारी दिए । यसअघि सो क्षेत्रमा सबैभन्दा बढि कोरोना संक्रमित पुष्टि भएको कारण २२ गतेसम्मको लागि सिंगटी क्षेत्रमा दुईपांग्रे सवारी साधनसमेतलाई निषेध गरिएको प्रजिअ शर्माले जनाए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।