गैरकानुनी रुपमा बालुवा उत्खनन् गर्ने दोलखाका ७ साधनसहित ६ जना पक्राउ

 आवाज संवाददाता     १५ भाद्र २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

भदौ १५, दोलखा । दोलखाको विभिन्न स्थानबाट ३ दिनको अवधिमा तामाकोशी नदिमा गैरकानुनी बालुवा उत्खनन् गर्ने ७ साधनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदि किनाराबाट सोमबार साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्याक्टर सहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको छ ।

यस अघि शुक्रबार राती ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एस्जाभेटर, दुई टिपरसहित पक्राउ २ जना पनि पक्राउ परेका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकार भित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोशी नदिबाट लोड गरिएको ट्याक्टरसहित पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–८, खारेका २० बर्षिय नविन श्रेष्ठ, विगु गाउँपालिका–४, लादुकका २१ बर्षिय सदिल श्रेष्ठ, गौरीशंकर गाउँपालिका–१, जुँगुका २० बर्षिय छत्रबहादुर जिरेल र गुप्तेश्वर गाउँपालिका–७, रामेछापका २२ बर्षिय जीवन कार्की रहेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए ।

चालकसहित प्रहरीले लु३त ५१८६, लु६त २९५०, लु३त ९२६१ र लु३त ९७०३ नम्बरको ट्याक्टर पक्राउ गरेर गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय सिंगटीलाई बुझाईएको डीएसपी पोखरेलले बताए ।

शुक्रबार राती पक्राउ पर्नेमा टिपर चालक वैत्यश्वर गाउँपालिका–६, नाम्दुका रामजी घिमिरे र भीमेश्वर नगरपालिका–५ मथानीका मिलन बस्नेत रहेको प्रहरीले जनाएको छ । रातीको समय भएकोले एक्जाभेटर चालक भने फरार रहेको बताईएको छ ।

नदिजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिले यसअघि भीमेश्वर नगरपालिका–५, बाट राती बालुवा झिक्दै गरेको अवस्थामा पक्राउ परेको एक्जाभेटरलाई तीन लाख र सोही समयमा बरामद भएको बा५ख ४३४६, बा५ख ६६८६ नम्बरको दुईओटा टिपरलाइ जनही तीस हजारको दरले जरिवाना समेत गरिसकेको समितिका संयोजक डबल पाण्डेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।