१० दिनपछि गाउँ पुगे बस

 आवाज संवाददाता     १२ भाद्र २०७३, आईतवार

रुटपरमिट नभएको भन्दै रोकिएका बस १० दिनपछि शनिबारदेखि गाउँ गाउँ पुगेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि तत्काल जिल्लास्तरीय यातायात व्यवस्थापन समितिको निर्णय अनुसार यातायात सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघको सहमतिपछि यातायात सुचारु भएको हो ।
यातायात व्यवस्था कार्यालय जनकपुरले जिल्ला प्रशासन कार्यालय दोलखाको सिफारिस अनुसार ३६ वटा सडकमा ३ महिनाका लागि अस्थायी रुटपरमिट दिने पत्र पठाएको छ । यसलाई व्यवस्थापन गर्न तोकिएको भाडा, पुग्ने समय, क्षमतालाई मापदण्ड बनाएर अस्थायी परमिट दिएको हो ।  यातायात व्यवसायीसहित आइतबार जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बसेर जानकारी गराउने उल्लेख छ ।
शनिबारदेखि नै दोलखाको सिंगटी लगायतका ठाउँमा बस सञ्चालन भएका छन् । बस सेवा बन्द हुँदा निजी बोलेरोमा एक सयको भाडामा एक हजारसम्म तिर्न स्थानीयहरु बाध्य थिए । झरी पर्न कम भएकाले सडक सफा गरेर चाँडै अन्य ठाउँमा पनि यातायात सुचारु गरिने रोल्वालिङ  यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । अब चाँडै तराई र काँकडभित्ता बस सञ्चालन पनि हुने उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF