रोकिएन तामाकोशी नदीमा अबैध बालुवा उत्खनन्
आवाज संवाददाता १८ भाद्र २०७७, बिहीबार
नवराज शिवाकोटी
चरिकोट १८, भदाै
तामाकोशी नदीमा असार देखि भाद्र मसान्त सम्म बालुवा उत्खनन् गर्न निशेध गरिएतापानि अबैध रुपमा उत्खनन् गर्ने क्रम नरोकिएको पाइएको छ । पटक–पटक अबैध रुपमा बालुवा उत्खनन् गरिरहेका साधन पक्राउ पर्नुले अबैध उत्खनन् नरोकिएको पाईएको हो ।
पछिल्लो पटक उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदि किनाराबाट भदौ १५ गते साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्याक्टर सहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख रेवतीरमण पोखरेलले बताए ।
यस अघि १२ गते राती ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एक्जाभेटर र दुई टिपरसहित २ जना मानिसलाई गस्तिमा रहेको प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अनुगमन तथा समन्वय समितिले असार १ गतेदेखि भाद्र मशान्तसम्म पदार्थ उत्खनन् गर्न लगाएको प्रतिवन्धलाई बेवास्ता गर्दै अबैध उत्खनन्मा संलग्न सवारी साधनका धनीहरुलाई जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले जरीवाना गरेको छ । अबैध रुपमा तामाकोशी नदीमा भाद्र १२ गते बेलुका बालुवा उत्खनन् तथा अाेसारपसारमा संलग्न ३ वटा साधनलाई भाद्र १४ गते बसेको जिल्ला नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिको बैठकले जरीवाना गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए । अबैध उत्खनन्मा संलग्न एक एस्जाभेटर लाई ३ लाख तथा बालुवा वसार्न प्रयोग भएका दुई टिपरलाई ३०-३० हजार रुपैयाँ जरीवाना गर्ने निर्णय गरिएको संयोजक पाण्डेको भनाई छ ।
कहिलेकाँहीँ प्रहरीले अबैध उत्खनन्मा संलग्नहरुलाई समाते पनि रातको समयमा नदीबाट बालुवा झिक्ने गरिएको तामाकोशी नदी निकट बस्ने स्थानीय वासिन्दाको भनाई छ । जथाभावी बालुवा झिक्नाले तामाकोशी नदीका बगरहरुमा खाडलमात्र देखिन थालेको छ । रातको समयमा बालुवा झिक्ने क्रममा स्थानीय युवाहरु विच विवाद भई झगडा समेत हुने गरेको उनीहरुको भनाई छ । एक स्थानीय तहतर्फको बगर बाट रातारात अर्को स्थानीयतहमा समेत लगेर बालुवा थुपार्ने होडबाजी तामाकोशी नदी आसपासमा चलेको छ ।
साँघुरो बगर भएको तामाकोशी नदीमा केही स्थान बाहेक कानुनी रुपमा क्रसर राख्ने मापदण्ड नपुग्ने भएतापनि दोलखाका विभिन्न स्थानीय तहहरुले नदीका आसपास दर्जनौं ठाउँहरुमा नदीजन्य पदार्थको ठेक्का निकालेका छन् । यसबाट नदीको सतह अझै गहिरिने तथा नदी आसपासका बस्तिहरु जोखिममा पर्ने वातावरण विदहरुको भनाई छ । हिउँदमा बैध रुपमैं जथाभावी नदीको बगर उत्खनन् गर्ने तथा वर्षा याममा अबैध उत्खनन्ले आफूहरु बाढी पहिरोको जोखिममा परेको स्थानीयहरुको गुनासो छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्रै नदीजन्य पदार्थको उत्खनन्कालागि स्थानीय तहहरुले टेन्डर निश्काशन गरेपनि वातावरणीय प्रभावको मूल्याङ्कन गर्दा कानुनी र नदी जन्य सामग्री झिक्ने ठाउँको वास्तविक स्थिति नहेरी झाराटार्ने प्रतिवेदन मात्र मुल्याङ्कन कर्ताले बुझाउने गरेको स्थानीयहरुको आरोप छ । दोलखामा निर्माणकार्यकालागि अति आवश्यक नदीजन्य पदार्थको विकल्प तामाकोशी नदी बाहेक अन्यत्र नभएकोले फराकिलो बगर भएको ठाउँमा मात्र निश्चित परिमाण भन्दा बढी बालुवा निकाल्न नपाउने गरी ठेक्का लगाउने तथा ठेक्का अबधिभर स्थानीय तहले कडा अनुगमनको ब्यवस्था गर्नु पर्ने उनीहरुको माग छ ।
तामाकोशी नदीमा अबैध उत्खनन् बढे सँगै अबैध नदीजन्य पदार्थ उत्खनन् बारेको समाचार लेख्ने पत्रकारहरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा धम्की समेत आउन थालेको छ । धम्की आएपछि आफू जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन बाध्य भएको दोलखाका एक पत्रकारले बताए ।
अबैध रुपमा बालुवा उत्खनन् कार्य बढेको गुनासो आइरहेसँगै प्रशासनको सक्रियता बढेको छ । कोभिडका कारण अन्य काममा समेत प्रहरी परिचालन हुनु परेको ले केही समस्या भएपनि प्रहरी को गस्ति बढाई अबैध उत्खनन कार्यमा संलग्नलाई कारवाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । दोलखाको विगु गाउँपालिका देखि तामाकोशी गाउँपालिकाको किर्ने टार सम्म तामाकोशी नदी किनारमा दर्जन बढी क्रसरहरु संचालनमा रहेका छन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।