मेलुङ गाउँपालिकाको खानेपानी विवाद उत्कर्षमा, पानी माग्न गएका उपभोक्ता हिरासतमा

 आवाज संवाददाता     २० भाद्र २०७७, शनिबार

राजन शिवाकोटी । चरिकोट

भदौ २०, चरिकोट । दोलखाको दक्षिणी मेलुङ गाउँपालिका अरले खानेपानी आयोजनाको विवाद उत्कर्षमा पुगेको छ । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले आम उपभोक्ताको मागलाई बेवास्ता गर्दै आफूसँग निकट सम्बन्ध रहेको टोलहरुमा सर्भे शुरु गर्न लगाएपछि विवाद उत्कर्षमा पुगेको हो ।

मेलुङ गाउँपालिका–४, भेड्पुका गोले गाउँ, थामी डाँडा, पिपलबोट, मानेडाँडा, स्वाराडाँडा लगायतका स्थानमा खानेपानी आयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट ९० लाख बजेट विनियोजन गरिएको थियो । क्रमागत योजनाका रुपमा संचालित अरले खानेपानी योजनाको बजेट अन्यत्रै रकमान्तर गर्न अध्यक्ष श्रेष्ठले खोजेपछि त्यसकोे विरोधमा भदौ १८ गते वडाध्यक्ष छत्रबहादुर तामाङ सहितको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गाउँपालिका कार्यालय गएको स्थानीयहरुको भनाई छ ।

गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका स्थानीलाई अध्यक्ष श्रेष्ठले “तिमी भुसुनाहरुले केही नाप्दैनौ, म ज्ञापनपत्र बुझ्दिन, सकेको गर” भन्ने जवाफ दिए पछि स्थानीय सरोकारवाला तथा अध्यक्ष श्रेष्ठ विच विवाद भएको प्रत्यक्षदर्शीहरुको भनाई छ । प्रहरी लगाएर दमन गर्न खोजेपछि स्थानीय युवाहरु आक्रोसित भई अध्यक्षको कार्यकक्षमा तालावन्दी गरेको उनीहरुको भनाई छ । तर श्रेष्ठले भने आफुलाई दुब्र्यवहार गरी धम्की दिएको बताएका छन् । गाउँपालिकामा अप्रिय स्थिति हुन नदिन जिल्लाबाट प्रहरी परिचालन गरिएको थियो ।

विवादका विच राप्रपाका केन्द्रीय सदस्य प्रविन थोकर, कृपाश्वर गोले, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो बस्तिका लागि केन्द्रबाट विनियोजित रकम पनि अध्यक्ष श्रेष्ठले वडाध्यक्ष छत्रबहादुर तामाङलाई समेत थाहै नदिई अन्यत्र लैजान खोजेपछि स्थानीयहरुले विरोध गर्नु स्वभाविक भएको नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले बताए । पानी माग्न जाँदा हिरासतमा पुग्नु पर्ने अवस्थाका लागि नेपाली जनताले लोकतन्त्र नल्याएको लामाको भनाइ छ ।

स्थानीय विवादलाई स्थानीयस्तरमै समाधान गर्न आग्रह गरिएपनि अध्यक्ष श्रेष्ठको दम्भका कारण राप्रपाका केन्द्रीय सदस्य सहित उपभोक्तालाई मुद्दा लगाईएको छ । अध्यक्ष श्रेष्ठले शुक्रवार जिल्ला प्रहरी कार्यालय दोलखामा उपभोक्ता विरुद्ध सरकारी कामकाजमा बाधाअवरोध पुर्याएको मुद्दा दर्ता गरेको बुझिएको छ ।

सोही विषयमा भदौ २० गते नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले प्रेसविज्ञप्ति जारी गर्दै पक्राउ परेका उपभोक्ताहरुलाई तत्काल विना शर्त रिहाईको माग गर्दै अरले खानेपानी योजना तोकिएकै बस्तिमा सम्पन्न नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । यसै गरी मेलुङ गाउँपालिकामा भएका अनियमितता तथा भ्रष्टाचारको छानविन गर्न अख्तियार समक्ष काँग्रेसले आग्रह गरेको छ । यस्तै राप्रप दोलखाले पनि राजनैतिक प्रतिशोध साँध्ने गरी गिरफ्तार गरिएका उपभोक्ताको रिहाईको माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष प्रकाशचन्द्र लोहनी, बरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङले समेत सामाजिक सञ्जालमार्फत निर्दोष उपभोक्तालाई सत्ता र शक्तिको बलमा दमन नगर्न चेतावनी दिएका छन् । निर्दोष उपभोक्तहरुलाई तत्काल पीउने पानीको व्यवस्था गर्न र पक्राउ परेकालाई तत्कालन रिहाईको माग गर्दै यदि सत्ताको दम्भका कारण कुनै अप्रिय घटना भए स्वयं अध्यक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा अध्यक्ष नवराज श्रेष्ठले हिजै एक विज्ञप्ती प्रकाशित गर्दै आफ्ना नेता थोकरको विनाशर्त रिहाइको माग गर्दै अन्यथा थप उत्पन्न विवादको जिम्मेवार गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले लिनु पर्ने बताईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।