भीमेश्वर नगरमा भदौ २७ गतेसम्म निषेधाज्ञा, सिंगटी भने खुल्यो
आवाज संवाददाता २१ भाद्र २०७७, आईतवार
रवीन्द्र गौतम । दोलखा
भदौ २१, दोलखा । आइतबार बिहान थप ४ जनामा कोरोना संक्रमण देखिएपछि भीमेश्वर नगरपालिकामा आइतबार मध्यान्ह १२ बजेदेखि भदौ २७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
गत भदौ १५ गतेदेखि सिंगटीमा जारी निषेधाज्ञा भदौ २२ गते सोमबारबाट खुकुलो गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भीमेश्वर नगरपालिकाभर भदौ २७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
आइतबार बिहान भीमेश्वर नगरपालिकाबाट स्वाब पठाईएकामध्ये २ महिला र २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण भेटिए पछि आवश्यक सतर्कताको लागि निषेधाज्ञा जारी गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।
२ बर्षिय बालकदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका एक डाक्टरसमेतलाई कोरोना संक्रमण देखिए पछि यस अघि खुकुलो गरेको निषेधाज्ञा पुन कडा गरिएको प्रजिअ शर्माले बताए ।
जिल्ला भित्रका सम्पूर्ण शैक्षिक संस्था तथा विद्यालयहरु, सबैप्रकारका भेला तथा समारोह, मन्दिरको नित्यपूजा बाहेकका दर्शनार्थिहरु, शैलुन तथा व्युटिपार्लरहरु निषेध गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।