दोलखामा नेकपाले आफै सिर्जना गरेका समस्या

 आवाज संवाददाता     २२ भाद्र २०७७, सोमबार

रमेश खतिवडा । समसामयिक

५ दिन अघि मेलुङ गाउँपालिकामा खानेपानी योजनाको बिषयमा ज्ञापनपत्र बोकेर गएका भेड्पु गाउँका स्थानियले गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ माथी गरेको दुव्र्यबहार पछि उनीहरु मध्ये ५ जनालाई पक्राउ गरिएको बिषयलाई लिएर नेकपाबाट विजयी जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे सहित ९ ओटै गाउँपालिकामा नेकपाबाट विजयी अध्यक्ष र उपाध्यक्षहरुको वक्तव्य देखेर सायद लाज पनि आफैंसंग लजायो होला ।

वक्तव्य पढेपछि दोलखामा यस अघिका केही घटनाहरु स्मरण गर्न मन लाग्योः
बर्ष दिन अघि चरिकोटबाट गृह गाउँ लापिलाङ जादै गर्दा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र उनकी श्रीमती चढेको गाडी सुनखानी गाउँको सोती बजार नजिक स्थानियको नियन्त्रणमा प¥यो । कालिञ्चोक गाउँपालिका केन्द्रको विवादमा तानिएका पाण्डेलाई सुनखानी गाउँकै नेकपाका कार्यकर्ताहरुको अगुवाईमा स्थानियले पानी समेत पिउन नदिई शौचालय जान नदिएर झण्डै ९ घण्टा जति बन्धक बनाएर राखे । बरु दिउसो खेरी बन्धक बनाएको स्थानमा पुगेका सुनखानी गाउँका कांगेस नेता कार्यकर्ताले पाण्डेलाई खाना र रेडबुल खुवाए । (यो कुरा पछि उनले हामी संग अन्तर्वार्तामा भनेका थिए)। त्यसपछि सोही दिन बेलुकी तिर प्रहरीले उनलाई बन्धक मुक्त गर्याे ।

यति मात्र हैन् । कालिञ्चोक गाउँपालिकाकै प्रमुख विनकुमार थामी माथी केन्द्रकै बिषयमा नेकपा निकट वडाअध्यक्ष र कार्यकर्ताहरुबाट थुप्रै पटक घाईते हुने गरी आक्रमण भयो । जिसस प्रमुख पाण्डेले धेरै पटक सुनखानी गाउँका नेकपाकै कार्यकर्ताहरुबाट धम्की सहनुपर्यो । यही बिषयमा प्रदेशका सांसद पशुपति चौलागाई माथि सिंगटीबाट फर्कदै गर्दा नेकपाकै कार्यकर्ताबाट आक्रमणको प्रयास भयो । यि घटनामा नेता माथि भएको बर्बरतापूर्ण आक्रमण र हिंसाका विरुद्ध न त दोलखा नेकपा बोल्यो, न उसका भातृ संगठन बोले । न त स्थानिय सरकारका प्रमुख/उपप्रमुखले प्रशासनको ध्यानाकर्षण नै गराए, न त यहाँका अधिकारकर्मीहरु कानुन हातमा लिनेका विरुद्ध आवाज उठाउन लागिपरे । कोही पक्राउ नपरी यो घटना पछि त्यसै सेलायो । बरु त्यतीबेला पाण्डे र अरु नेताहरु माथी नेकपा कार्यकर्ताबाटै भएको ज्यादती बारे जिल्लाका मिडियाकर्मीहरुले उठान गरे, सञ्चारमाध्यमहरु त्यो ज्यादतीका विरुद्ध उत्रिए ।

मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ विरुद्ध यस अघि नेकपाकै कार्यकर्ताहरुबाट बिभिन्न्न सार्वजनिक बिषयमा पटक पटक घेराबन्दी भयो । घेराबन्दी गरेको भन्दै यही प्रकरणमा कतिपय वडाध्यक्ष संग उनको बोलचाल नै बन्द भयो । उनलाई त्रिभुवन मावि र गाउँपालिका कार्यालय सहति बिभिन्न स्थानमा यस अघि केही पटक त आक्रमणकै प्रयास भयो । त्यहाँका नेकपा नेता कार्यकर्ता नै उनका विरुद्ध छारस्ट लेख्थे बोल्थे । तर श्रेष्ठ माथी भएको यस अघिको दुव्र्यवहारका विरुद्ध न त नेकपा बोल्यो न त कोही बोले ।

दोलखामा २ नगर र ७ गाउँपालिका मध्ये दुवै नगर र ५ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपाका पदाधिकारी छन् । उनिहरु जितेको ४० महिना हुन लाग्यो । बाँकी कार्यकाल अब २० महिना जति छ । तर यो ४० महिनालाई हेर्दा नेकपाले जितेका स्थानिय तहहरुमा जति पनि समस्या देखिाए , त्यो स्वयं उनिहरुकै कारण भन्न सकिन्छ । गाउँपालिकाहरुमा चरम राजनितिकरण छ । त्यहीं माथी नेकपा भित्रको आन्तरिक पार्टी गुटबन्दीले कतिपय स्थानिय तह थिलथिलो बनेका छन् ।

गौरीशंकर गाउँपालिकामा नेकपाबाटै विजयी कतिपय वडाध्यक्षहरु संग गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काको राम्रो संग बोलचाल समेत छैन् । वडा नं ६,७,८ र ९ का वडाध्यक्षको असहयोगका कारण गत असारमै पास गरेर सरकारी सफ्टवेर ‘सुत्र’ मा हाली सक्नुपर्ने बजेट अस्ती बल्ल भदौ महिनामा आएर पास भएको छ । हरेक स–साना बिषय पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोलखाका संघीय सांसद एवं हालका क्याबिनेट मन्त्री पार्वत गुरुङलाई सोधीरहने खड्काको आदतका कारण गाउँपालिका भित्र नेकपाकै टिममा असन्तुष्टी चुलिदो छ । शैलुङमा अध्यक्ष भरत दुलाल आफ्नैहरुबाट घेराबन्दीमा छन् । दोलखाका स्थानिय सरकारमा जति पनि समस्या देखिन्छ त्यो आफ्नैहरुबाट देखिएको बुझिन्छ । जिल्लामा कमजोर प्रतिपक्षका कारण नेकपाले नेतृत्व गरेका स्थानिय तहहरुमा पछिल्लो समय आफ्नै पार्टी भित्र आन्तरिक प्रतिपक्ष देखिन्छन् ।

कतिपय स्थानिय तहका नेतृत्वकर्ताहरु टाठा छन् । तामाकोसी गाउँपालिकामा केन्द्रको बिषयमा झण्डै ६ महिना बढी बैठक नै बस्न सकेन । जफे पूर्वका ४ वटा वडाहरुमा नेकपाकै जनप्रतिनिधि र कार्यकर्ता संग अध्यक्ष ईश्वर पोखरेलको झगडा चुलियो । तर उनी आफैं अग्रसर भएर पोखरेलले यो बिषय तुरुन्तै टुंग्याए । दोलखाका स्थानिय तहमा जतिपनि बिषय देखिन्छन त्यो प्राय नेपाल कम्युनिष्ट पार्टीमा आफैं भित्रबाट सिर्जित समस्या हुन् ।

यस अघि मेलुङको त्रिभुवन माविमा अध्यक्ष नरबहादुर श्रेष्ठ माथी भएको दुव्र्यवहारमा कोही नबोल्दा भेड्पुको खानेपानी प्रकरणमा यस पटक नेकपा र जिल्लाभरका उक्त पार्टी निकट जनप्रतिनिधि बोलेका छन् । यसको कारण यो प्रकरणमा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै नेपाली कांग्रेसले आन्दोलन र जिल्ला भर कम्युनिष्टका स्थानिय तहहरुमा शुरु हुन लागेको कांग्रेस कम्युनिष्ट बिचको द्धन्द भनेर बुझ्न पनि सकिन्छ । यो द्धन्द रोक्नका निम्ती दुवै दल जिम्मेवार हुन जरुरी छ ।

दोलखामा जनताको अपार मत पाएर विजयी भएको नेकपा सबैभन्दा बढी जिम्मेवार हुन जरुरी छ । मेलुङ गाउँपालिकामा खानेपानीको समस्या राख्न आएकाहरुले पालिका अध्यक्ष माथी अवरोध, दुव्र्यवहार वा हातपातको प्रयास गरेको हो भने त्यो खेदजनक छ । तर पालिका अध्यक्ष समेत जनताको गुनासै नसुन्न्नै, वास्तै नगर्ने भन्ने कार्यशैली देखाउनु गलत हुनेछ । यसका साथै कांग्रेस समेत उदण्ड हुन मिल्दैन् । दोलखा नेकपाले जान्ने हो भने यो प्रकरणलाई वार्ता र छलफलको माध्यमबाट टुंग्याउन जरुरी छ । चरम राजनितिकरण बन्द गर्दा राम्रो ।
आदरणिय नरबहादुर श्रेष्ठ र मेलुङका गाउँबासी बिच थप सुमधुर सम्बन्ध होस । यो गाउँपालिकाका आगामी यात्रा अझ बढी सफल रहुन् । शुभकामना ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।