बालुवासहित सिंगटीबाट पक्राउ परेकालाई जनही १८ हजार धरौटी, निकुञ्ज ऐनअनुसार अनुसन्धान हुँदै

 आवाज संवाददाता     २३ भाद्र २०७७, मंगलवार

रवीन्द्र गौतम । दोलखा

भदौ २३, दोलखा । भदौ १५ गते साँझ उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदि किनाराबाट गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेको आरोपमा पक्राउ परेका ४ जनालाई ७५ हजार धरौटी खुलेको छ । पक्राउ परेका ४ जनाले ७५ हजार पाँचसय २० रुपैयाँ धरौटी तिरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को कसुरअनुसार जनही १८ हजारभन्दा बढि धरौटी माग गरिएको र पक्राउ परेका ४ जनाले कूल ७५ हजार पाँचसय २० रुपैयाँ धरौटी बुझाएको गौरीशंकर संरक्षण क्षेत्र चरिकोटका सम्पर्क अधिकारी शिवलाल गैरेले जानकारी दिए ।

कानुनअनुसार तामाकोशी नदीमा असारदेखि भदौमसान्तसम्म बालुवा उत्खनन् गर्न निषेध गरिएको अवस्थामा बालुवाको अबैध उत्खनन् गर्दै गरेका ४ ट्याक्टरसहित ४ जना पक्राउ परेका थिए । गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकार भित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोशी नदिबाट लोड गरिएको ट्याक्टरसहित पक्राउ परेका नविन श्रेष्ठलाई १८ हजार ४ सय ८०, सदिल श्रेष्ठलाई १८ हजार ७ सय २०, छत्रबहादुर जिरेललाई १८ हजार ७ सय २० र रामेछापका जीवन कार्कीलाई १८ हजार छसय रुपैयाँ धरौटी लगाईएको सम्पर्क अधिकारी गैरेले जानकारी दिए ।

चालकलाई सो धरोटीमा छुटेका भए पनि लु३त ५१८६, लु६त २९५०, लु३त ९२६१ र लु३त ९७०३ नम्बरको ट्याक्टर अझै संरक्षण क्षेत्रको नियन्त्रणमा नै रहेको गैरेले बताए । पक्राउ परेकाहरु धरौटीमा मात्र छुटेका र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ उपदफा १(च) को कसुर गरेको अभियोगमा अनुसन्धान भईरहेको गैरले बताए । सो दफाअनुसार विगो बमोजिम वा विगोको दोब्बर जरिवाना वा एकवर्ष कैद वा दु्बै सजाय हुने व्यवस्था छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।