व्यवस्थापनको लापरबाहीले सुरीखोला हाइड्रोपावरमा एक मजदुरको मृत्यु

 आवाज संवाददाता     २७ भाद्र २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

भदौ २७, दोलखा । साढे ६ मेगावाट क्षमताको सुरीखोला हाइड्रोपावर लिमिटेड व्यवस्थापनको लापरबाहीले एक मजदुरको मृत्यु भएको छ ।
हाइड्रोपावर व्यवस्थापनले मजदुर सुरक्षाका न्यूनतम शर्तहरु लागू नगरी काम गराएको कारण उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका–५, गुरुम्फीस्थित सुरीखोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको हो ।

गुरुम्फीस्थित सतही विद्युत्गृहमा हाईड्रोमेकानिकल मेशिन जडान गर्नका लागि क्रेनको बकेटमा चढेर काम गर्दै गर्दा ८ मिलिमिटरको फलामे तार चुँडिन गई करिब ३५ फिट तल खस्दा पनौती नगरपालिका–६, काभ्रेपलाञ्चोकका ३१ वर्षिय महेश केसीको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहोराले बताए ।

हाईड्रोपावरमा मजदुरको सुरक्षाको लागि काममा पठाउनु पूर्व मेशिनको अवस्थाको बारेमा पूर्व जाँच गर्नु पर्ने तर त्यसो नगरेको कारण ति मजद्ुरको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको सिंगटी प्रहरीको भनाई छ ।

क्रेनमा प्रयोग गरिने फलामे तार कम्तिमा ८ मिलिमिटरको हुने भए पनि हत्तपत्त नचुँडिने तार सुरक्षा जाँच नगरी लापरवाही गर्दा मजदुरको ज्यान गएको अनुमान गरिएको छ ।

बकेटसहित ढलानमा खसेर टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएका केसीको टाउकोमा हेल्मेट नलाईएको बताईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।