तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना विमा गरिदिने

 आवाज संवाददाता     २७ भाद्र २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

भदौ २७, दोलखा । देश तथा जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेका बेला दक्षिणी दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना विमा गरिदिने भएको छ ।

व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालु आर्थिक बर्षमा तामाकोशी गाउँपालिकाले कम्तिमा १२ हजार नागरिककाेे कोरोना विमा गरिदिने भएको हो ।

शनिबार सम्पन्न गाउँकार्यपालिकाको बैठकले सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्र्तगत रहेको ९ लाख खर्च गरेर सो संख्याको कोरोना विमा गरि दिने निर्णय गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकहरुको विमा गरिदिने अध्यक्ष पोखरेलले बताए ।

तामाकोशी गाउँपालिकामा रहेका सहकारीहरुको प्रस्तावमा शनिबार सम्पन्न कार्यपालिका बैठकले सहकारीको सदस्य भएमा सहकारीले एकसय, व्यक्तिले एकसय र गाउँपालिकाले एकसय गरी विमा गरिदिने व्यवस्था गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए । सहकारीको सदस्य नभएमा विमा गर्ने व्यक्तिले दुईसय तिर्नु पर्ने र त्यसमा गाउँपालिकाले एकसय थप गरी विमा गरिदिने उनले बताए ।

तामाकोशी गाउँपालिका ठेगाना भएको जोकोही आए पनि विमा गरिदिने अध्यक्ष पोखरेलले बताए । २०६८ को जनगणनाअनुसार १८ हजार जनसंख्या रहेको तामाकोशी गाउँपालिकामा हाल करिब २५ हजार जनसंख्या रहेको अनुमान गरिएको छ । त्यसको आधा कम्तिमा १२ हजार जनाले विमा गर्ने गाउँपालिकाको अनुमान रहेको अधिकृत मिश्रले बताए ।

तामाकोशी गाउँपालिकामा हालसम्म एकजनामा पनि कोरोना संक्रमण नदेखिएको भए पनि विमा कार्यक्रमबाट नागरिकहरुले भरपूर लाभ लिन सक्ने गाउँपालिकाको अपेक्षा छ । यसअघि सो गाउँपालिकाले कोरोना महामारी सतर्कता र रोकथामको लागि उल्लेख्य कार्यहरु सम्पादन गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।