दोलखाका बोर्डिङ तथा विद्यालयहरुमा असोज ७ गतेबाट पठनपाठन सुचारु हुने

 आवाज संवाददाता     ३० भाद्र २०७७, मंगलवार

नवराज शिवाकोटी । चरिकोट

भदौ ३०, चरिकोट । दोलखाका विद्यालयहरुमा असोज ७ गतेदेखि पठन–पाठन सुचारु हुने भएको छ । कोरोना त्रासका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा असोज ७ गतेबाट पठन–पाठन सुरु भएको छ ।

मंगलवार जिल्ला समन्वय समिति दोलखामा भएको जिल्लाका स्थानीय तहरुका जनप्रतिनिधिहरुको सहभागीतामा सम्पन्न बैठकले असोज ७ गतेबाट विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए ।

दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुमा पठनपाठन क्रियाकलाप संचालन गर्ने ब्यवस्था मिलाउन बैठकले निर्णय गरेको संयोजक पाण्डेको भनाई छ ।

कोरोना संक्रमण फैलन सक्ने भयका कारण चैत्र महिनादेखि देशमा बन्दाबन्दी भए देखि दोलखाका विद्यालयहरु खुल्न सकेका थिएनन् । केही स्थानीय तहहरुमा बन्दाबन्दीका विचमा पनि विद्यार्थीहरुलाई वर्कसिट बाँड्ने काम भए पनि त्यसको खासै प्रभावकारिता नदेखिएको स्थानीय अभिभावकहरुले बताए ।

आवश्यक सुरक्षात्मक उपायहरु अपनाई असोज ७ गतेबाट कसरी विद्यालय संचालन गर्न सकिन्छ भनी आफूहरुले तयारी गरिरहेको भीमेश्वर नगरपालिकाका प्रधानाध्यापकहरुको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।