नखुल्ने भयो दोलखामा असोज ७ गतेबाट विद्यालय

 आवाज संवाददाता     १ आश्विन २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

असोज १, दोलखा । संघीय सरकारको निर्देशन विपरित दोलखाका जनप्रतिनिधि सम्मिलित बैठकले असोज ७ गतेदेखि नियमित पढाई गर्ने निर्णय उल्टिएको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहिबारको बैठकले निर्णय गरी जिल्ला शिक्षा समितिले २ दिन अघि गरेको निर्णय उल्ट्याएर विद्यालयमा नियमित पढाई बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार जनप्रतिनिधि सम्मिलित जिल्ला शिक्षा समितिको बैठकले दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु गर्ने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समिति, संकट व्यवस्थापन केन्द्र र जनप्रतिनिधि सम्मिलित बिहिबार बसेको बैठकले संघीय सरकारको लिखित निर्देशनअनुसार भदौ ३० को निर्णय खारेज गर्दै अर्को निर्देशन नआएसम्मको लागि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए ।

संघीय सरकारले पत्राचार गरेर विद्यालयमा नियमित पठनपाठन सुरु गर्न आदेश नगरेसम्म दोलखाको कुनै पनि शैक्षिक संस्थाहरु नखुल्ने प्रजिअ शिवाकोटीले स्पष्ट पारे । शिक्षकहरु विद्यालयमा गएर नियमित कामकाज, भर्नासम्वन्धि कार्यहरु गर्न भने छुट रहेको उनले बताए ।

प्रधानमन्त्रीको कार्यालय र गृहमन्त्रीको कार्यालयबाट दोलखाको विद्यालयमा नियमित पठनपाठन बन्द गर्न छुट्टाछुट्टै लिखित् निर्देशन प्राप्त भएको स्रोतको भनाई छ ।

शैलुङ गाउँपालिकाले बिहिबारबाट नियमित पढाई सञ्चालन गर्न मातहतका विद्यालयलाई निर्देशन जारी गरेको थियो भने विगु र बैत्यश्वर गाउँपालिकाले विद्यालयमा नियमित पठनपाठन सुरु गर्न आवश्यक तयारी थाल्न निर्देशन जारी गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF