शनिबार विहानै चरिकोटमा कुकुरले ३ जनालाई टोक्यो

 आवाज संवाददाता     १० आश्विन २०७७, शनिबार

रवीन्द्र गौतम । चरिकोट

असोज १०, चरिकोट । शनिबार एकाबिहानै भीमेश्वर नगरपालिका वडा नम्बर २ र ३ गरी भुस्याहा कुकुरले ३ जनालाई टोकेर शख्त घाइते बनाएको छ ।

शनिबार विहानै भीमेश्वर नगरपालिका वडा नं. २, तिखातल घुम्तीका विनोद श्रेष्ठलाई घरबाट निस्किँदा निस्किँदै घुँडामा ठूलो चोट हुने गरी टोकेको छ । श्रेष्ठले धुलिखेल अस्पताल दोलखा बजारमा आवश्यक उपचार गरेर र एण्टी रेविज खोप लगाएको बताए । कुकुरले श्रेष्ठको घरनजिकै विरालोको २ ओटा बच्चा पनि खाईदिएको बताए ।

भीमेश्वर नगरपालिका–३, गौतमटोलकी सावित्री गौतम र मैयाँ नेपालीलाई पनि गहिरो चोट हुने गरी टोकेको छ । उनीहरु दुबैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार गरिएको छ । घाइते मध्ये गौतमलाई धेरै पटक झम्टि झम्टि टोकेर शख्त घाइते बनाएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

भुस्याहा कुकुुरलाई खोज्न चरिकोट प्रहरी र भीमेश्वर मन्दिरको प्रहरी टोली सहित भीमेश्वर नगरपालिकाका पशु सेवा शाखाका कर्मचारीहरु परिचालन भएका छन् । स्थानीयका अनुसार सोही कुकुरले शुक्रबार पनि चरिकोट बजारमा एकजनालाई टोकेर घाइते बनाएको थियो ।

यो सहित दोलखा जिल्लामा डेढमहिनाको अवधिमा करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको छ भने कुकुरको टोकाईबाट लागेको रोगले ३ जनाको मृत्यु भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF