बजेट नल्याएको विरोधमा युवाहरुले घेरे कालिञ्चोक गाउँपालिका

 आवाज संवाददाता     ११ आश्विन २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

असोज ११, दोलखा । आर्थिक बर्ष सुरु भएको ३ महिना वित्न लाग्दा समेत बजेट नल्याएको भन्दै स्थानीय युवाहरुले कालिञ्चोक गाउँपालिकाको कार्यालय घेराऊ गरेका छन् ।

कानुनअनुसार असार मशान्तमै सार्वजनिक गरिसक्नु पर्ने बजेट आर्थिक बर्ष सुरु भएको ३ महिना वित्न लाग्दा समेत बजेट पास नगरेको विरोधमा आइतबार स्थानीय युवाहरुले कालिञ्चोक गाउँपालिकाको कार्यालय घेराऊ गरेका हुन् । ‘कालिञ्चोकका जनता के भन्छन्, विकास बजेट ले भन्छन्’ भन्ने एकमात्र नारा लगाउँदै करिब ३ सय युवाहरुले आइतबार कार्यालय घेराऊ गरेको स्थानीय निरज आचार्यले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक विचको गाउँपालिकाको स्थायी केन्द्र विवादले बजेट पास नगरेपछि स्वस्फूर्त रुपमा युवाहरुले नेपालको झन्डासहित पालिका कार्यालय घेराउ गरेको स्थानीयहरुको भनाई छ ।

सार्वजनिक सम्पत्तिलाई पेवा ठानेर विकास बजेटलाई बन्धक बनाएको भन्दै युवाहरुले १० बुँदे ज्ञापनपत्र समेत बुझाएको स्थानीय बालकृष्ण आचार्यले जानकारी दिए । केही दिनभित्र बजेट पास गरी सार्वजनिक नगरे युवाहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

२०७७ असार २३ गते गाउँपरिषद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए पनि समय अभावको कारण स्थगित परिषद् अहिलेसम्म बस्न सकेको छैन । बजेट नआएका कारण गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा नियमित वितरण गर्नु पर्ने औषधि खरिद हुन नसकेर सकिएको छ । साथै चालु आर्थिक बर्षमा कार्यान्वयन गर्नु पर्ने विकास निर्माण, तलब, सामाजिक सुरक्षा भत्ता लगायतका कार्यहरु ठप्प भएका छन् । बजेट नआएपछि टेण्डर, उपभोक्ता समिति गठन, स्टिमेट लगाएतका काम ठप्प हुन पुगि आफूहरु काम विहीन बन्न पुगेको कर्मचारीहरुको भनाई छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले भने आर्थिक वर्ष २०७७÷७८ को बजेट पारित भइसकेको तथा खर्च गर्नको लागि सुत्र भन्ने सफ्टवेयरमा अपलोड हुन नसकेको बताएका थिए । बजेट अहिलेसम्म सार्वजनिक नहुनाको कारण बारे उपाध्यक्ष कालिका पाठकलाई सोध्दा यो विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरेकी थिईन । गाउँपालिका अध्यक्ष थामी तथा केही वडाध्यक्षहरुले बजेट पारित गरेको दावी गरे पनि कार्यालयमा भने बजेट पास भएको माइन्युट आइतबारसम्म प्राप्त नभएको प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF