दोलखामा स्वाब दिएका र परीक्षणको रिपोर्ट वडातहसम्म पु¥याईने

 आवाज संवाददाता     १३ कार्तिक २०७७, बिहीबार

कात्तिक १३, चरिकोट । दोलखामा स्वाब दिएकाहरुको सूची र परीक्षणबाट आएको रिपोर्ट अब वडातहसम्म पु¥याईने भएको छ । परीक्षणका लागि स्वाब दिनेहरु समुदायमा हिँडडुल गरेर लापरबाही हुन थालेको पाईए पछि बिहिबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दोलखाको बैठकले स्वाब दिएकाहरुको सूची र परीक्षणबाट आएका रिपोर्ट वडातहसम्म पु¥याईने निर्णय गरेको हो ।

परीक्षणको लागि स्वाब दिने अनि बजार डुलेर समुदायलाई नै संक्रमणको खतरामा पार्न थालेपछि यस्तो निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए ।

जिल्लामा हालसम्म २ हजार ३ सय २८ जनाको स्वाव संकलन संख्या गरिएकोमा ९९ जनामा संक्रमण देखिएको प्रजिअ शिवाकोटीले बताए । त्यसमध्ये ५९ जना निको भई अझै ३९ जना सक्रिय संक्रमित रहेको प्रजिअ शिवाकोटीको भनाई छ । जिल्लामा हालसम्म एक ७८ बर्षिय महिलाको मृत्यु भएको तथ्याङ्क छ ।

यसै गरी समितिले जिल्ला स्थित अस्पतालहरुमा अक्सिजन स्टकलाई यथेष्ट मात्रामा राख्न लगाउने, चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सूचारु गर्ने, दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्वर अफ कमर्सले आफ्नो विषयगत संघहरु सँगको सहयोगमा व्यापार व्यवसाय गर्नेहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।