फ्रेन्डसिप सहकारी: आब ०७५/०७६ मा दोलखाको उत्कृष्ट करदाता

 आवाज संवाददाता     ४ मंसिर २०७७, बिहीबार

मंसिर ४, चरिकोट । करदाता सेवा कार्यालय चरिकोटले आर्थिक बर्ष २०७५÷०७६ मा जिल्लाको उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।आर्थिक बर्ष ०७५÷०७६ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)लाई करदाता सेवा कार्यालय चरिकोटले सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०७७ को अवसरमा फ्रेण्डसिप साकोसलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको करदाता सेवा कार्यालय चरिकोटका प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । आर्थिक बर्ष २०७६÷०७७ को कर दाखिला गर्ने अवधि पुस मशान्तसम्म रहेकोले सो अवधिको उत्कृष्ट करदातालाई आर्थिक बर्ष २०७८÷७९ मा सम्मान गरिने कार्यालयले जनाएको छ ।

हरेक बर्ष कर दिवसको अवसरमा धेरै कर तिर्ने संस्था र व्यक्तिलाई कदर गर्ने कार्यक्रमलाई करदाता कार्यालय चरिकोटले निरन्तरता दिएको हो । आर्थिक बर्ष २०७५÷०७६ मा १० लाख ३ सय कर दाखिला गरेवापत सम्मानित भएको फ्रेण्डसिप साकोसलाई कार्यक्रमका प्रमुख अतिथि एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले सम्मान गरेका हुन् ।

दोलखा जिल्लाका विभिन्न स्थानमा फैलिएर रहेका साना लगानीका होटल तथा पसलहरु दर्ता नभएकाले सबैलाई कानुन प्रक्रियाअनुसार दर्ता गर्न गराउन प्रमुख अतिथि प्रजिअ शिवाकोटीले आग्रह गरेका छन् ।

करबारे सर्वसाधारणमा जनचेतना बढाउने, धेरैभन्दा धेरै मानिसलाई करको दायरामा ल्याउने र ति मध्ये उत्कृष्ट करदातालाई सम्मान पनि गर्ने सरकारको उद्देश्य रहँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।