पहिलोपटक हाम्रो जनकल्याण साकोसले सुरु ग¥यो रेडियोमार्फत साधारणसभा

 आवाज संवाददाता     ६ मंसिर २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

मंसिर ६, दोलखा । कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला दोलखाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलोपटक सामुदायिक रेडियोहरुमार्फत साधारणसभा सम्पन्न गरेको छ ।

कोरोना रोगको महामारीले ठूलो संख्यामा मान्छे जम्मा गर्न सरकारले रोक लगाएपछि हाम्रो जनकल्याण साकोसले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

जिल्लाका रेडियो भीमेश्वर, कालिञ्चोक एफएम, रेडियो शैलुङ र हाम्रो रेडियोमार्फत सहकारीले साधारणसभाका विषय, नीति तथा कार्यक्रम र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

८ हजार सेयर सदस्य तथा साढे ३२ सय बालबचतकर्ता रहेको सहकारीका सञ्चालक र ३ जना अतिथि उपस्थित गराएर सहकारीले साधारणसभा सम्पन्न गरेको हो ।

केन्द्रीय साधारणसभा मात्र आयोजना गर्दै आईरहेको सहकारीले कोरोना महामारीका कारण ६ वटा ईकाईगत सभा गर्ने हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । गत आर्थिक वर्षको अन्त्यसम्ममा ६२ करोड ९३ लाख बराबरको वासलात रेडियोमार्फत कोषाध्यक्ष अर्जुन कार्कीले सार्वजनिक गरेका थिए ।

५ करोड २१ लाख २१ हजार दुईसय सेयर पूँजी रहेको सहकारीको साधारणसभामा उपस्थित भीमेश्वर नगरपालिका मेयर भरतबहादुर केसीले सहकारीहरुले उत्पादनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए । नीति, विधि र नेतृत्वको आधारमा सहकारीहरु सञ्चालन गरेर उत्पादन र पर्यटनको क्षेत्रमा लगानी बढाउँदा प्रतिफल कहिल्यै नगुम्ने मेयर केसीले बताए ।

सहकारीले गत आर्थिक बर्षमा मृत्यु भएका २१ सेयर सदस्यका आफन्तहरुलाई ३ लाख ८१ हजार हितकोषबाट भुक्तानी गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले बताए ।

संस्थामा सदस्य भई आमा वा बुबा मध्ये एक जना नभएका सेयर सदस्यका छोराछोरीमध्ये एकजनालाई दिने गरिएको असहाय सन्तती छात्रबृत्ति अन्तरगत गत आर्थिक बर्षमा ५ छात्र र ५ छात्रा गरी १० जनालाई प्रत्येकलाई बार्षिक दुईहजार पाँचसयको दरले २५ हजार छात्रबृत्ति वितरण गरिएको सीईओ बस्नेतले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।