राष्ट्रपति भण्डारीले बुझिन् भीमेश्वरको महाप्रसाद, फागुनमा दर्शनका लागि दोलखा आउने

 आवाज संवाददाता     ११ मंसिर २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

मंसिर ११, दोलखा । बुधबार दिउँसो भीमेश्वरको शिलामा आएको पसिना पुछेको महाप्रसाद (रुवा) राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार बुझेकी छन् ।

भीमेश्वरको शिलामा १८ औं पटक पसिना आएपछि पसिना पुछेको महाप्रसादलाई भीमेश्वर मन्दिरका गुठीयारले विहिबार राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

भीमसेनलाई पसिना आउँदा देशमा शुभ वा अनिष्ट हुने धार्मिक मान्यताअनुसार राष्ट्रध्यक्षलाई सो बारे जानकारी दिने र महाप्रसाद चढाउने चलनअनुसार राष्ट्रपति भण्डारीले तेस्रोपटक महाप्रसाद बुझेकी हुन् ।

एउटै कार्यकालमा राष्ट्रपति भण्डारीले २०७४ असोज ९, २०७६ फागुन ८ र २०७७ मंसिर ९ गते गरी ३ पटक महाप्रसाद बुझेकी थिईन् ।

भीमेश्वरको महाप्रसाद बुझ्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीको प्रभाव हेरि फागुनसम्ममा भीमेश्वर दर्शनको लागि दोलखा आउने इच्छा व्यक्त गरेको महाप्रसाद बुझाउन गएका भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष एवम् गुठीयार विराजमान श्रेष्ठले जानकारी दिए ।

गौरीशंकर हिमाललाई नजिकबाट नियाल्ने चाहना रहेको बताउँदै राष्ट्रपति भण्डारीले महाप्रसाद उपलब्ध गराएकोमा दोलखावासीलाई धन्यवाद व्यक्त गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

भीमेश्वरको पसिनाको प्रभावले देशबाट कोरोना महामारी मुक्त भई जनजीवन सामान्य होस् भन्ने कामना गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बुधबार मंसिर ९ गते भीमेश्वरको शिलामा १८ औं पटक पसिना आएको थियो । यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो ।

गतबर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाईरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ ।

गत चैत ११ गतेदेखि लकडाउन गरेर विचमा खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि बन्द रहँदै आएको थियो ।

भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा विरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।