नाटकी सरकार विरुद्ध दोलखा काँग्रेसको विरोध सभा

 आवाज संवाददाता     २९ मंसिर २०७७, सोमबार

चरिकोट । नेपाली काँगे्रस दोलखाले सोमबार सदमुकाम चरिकोटमा सरकार विरुद्ध बृहत विरोध प्रदर्शन गरेको छ । सदरमुकाम चरिकोटको सातदोबाटोमा आयोजित विरोध सभाका प्रमुख अतिथि काँग्रेस नेता एवम् नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष नैनसिंह महरले बालुवाटार जग्गा काण्ड, उखु किसानको पीडा, कोरोना रोकथामका लागि गरिएको खर्चमा भ्रष्टाचार जस्ता कान्डै काण्डमा चुर्लूम्म डुवेको ओली सरकार देशको सिमा मिचिँदा पनि लाचार भएर बसेको आरोप लगाए ।

दोलखामा निर्माण हुन लागेको फिल्मसिटी समेत अन्योलमा पारेर सरकारले दोलखालाई विकासमा पछि पारेको बताए । भ्रष्टाचार र अनियमिततामा डुबेको ओली सरकार रहेसम्म नेपाली जनताले कहिल्यै समृद्धिको श्वास फेर्न नसक्ने प्रमुख अतिथि महरले ठोकुवा गरे ।

विरोध कार्यक्रमका सभापति नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले केपी सरकारको गलत प्रबृत्तिका विरुद्ध अब काँग्रेस चुप लागेर नबस्ने बताए । समग्र दोलखालाई विकासमा ढाँट छल गरेर निर्वाचन जित्ने नेकपाको अब दोलखामा उल्टो दिन गन्ती शुरु भएको बताए । यसैगरी विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व सभापती ताराबहादुर कोइरालाले प्रत्येक स्थानीय तहमा भएको भ्रष्टाचार र अनियमितताको भण्डाफोर अब काँग्रेसले गर्ने बताए ।

कार्यक्रमलाई काँग्रेस पूर्व सभापति देवीप्रसाद न्यौपाने, काँग्रेस नेताहरु ईश्वरनारायण मानन्धर, बर्मा लामा, केशवराज चौलागाई, कुन्दनराज काफ्ले, पार्टी सचिव बालकृष्ण आचार्य, महिला संघकी सदस्य अनिता श्रेष्ठ, तरुण दल दोलखाका अध्यक्ष दावा साङ्गे शेर्पा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने कर्णसिंह थामी लगायत करिब एकसय जनालाई सदस्यता प्रदान गरिएको सभापति खडेकाले बताए ।

कार्यक्रममा नवप्रबेशी कर्णसिंह थामीले आफू वर्षांैदेखि कम्युनिष्ट भए पनि कम्युनिष्टले भूमिपूत्र थामीको पक्षमा कुनै काम नगरेकोले नेपाली काँग्रेसमा प्रवेश गरेको बताए ।

विरोध सभा पूर्व काँग्रेस दोलखाले मोटरसाइलक र्याली तथा विरोध जुलुस निकालेको थियो । जुलुसले चरिकोट बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।