१५ हजार क्षमताको भीमेश्वर रंगशाला निर्माणमा जग्गा विवाद
आवाज संवाददाता ३ पुष २०७७, शुक्रबार
रवीन्द्र गौतम । दोलखा
पुस ३, दोलखा । राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्न सकिने १५ हजार दर्शक क्षमताको आरसीसी प्यारापिट सहितको भीमेश्वर रंगशाला स्तरोन्नती योजना जग्गा विवादले अन्योलमा परेको छ ।
भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित १५ हजार दर्शक क्षमताको भीमेश्वर रंगशाला कृषि सामग्री कम्पनी लिमिटेडको जग्गा उपभोग विवादले अन्योलमा परेको हो । भीमेश्वर नगरपालिकाले विभिन्न स्रोत जुटाएर चालु आर्थिक बर्षबाट निर्माण सुरु गरेको भीमेश्वर रंगशालाको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर)को कारण विवादमा परेको हो ।
नगरपालिकाले गत आर्थिक बर्षमा स्वीकृत गरेको डीपीआरमा कृषि सामग्री कम्पनी लिमिटेडको सवा २ रोपनी जग्गा प्रयोग गर्नु पर्ने उल्लेख छ । तर कृषि सामग्री कम्पनी लिमिटेडको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २५३८ को ११३३ बर्गमिटर जग्गा भीमेश्वर रंगशालाको नाममा उपभोग गर्न विवाद सुरु भएको हो । स्वीकृत डीपीआरको नापअनुसार कम्पनीको सवा २ रोपनी जग्गामा भूमीगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय र विभिन्न विधाका खेलका कार्यालयहरु राख्ने कोठा निर्माण हुनुपर्नेछ उल्लेख छ ।
नगर गौरवको योजनाको रूपमा अघि बढाईएको ११० मिटर लम्बाइ र ६५ मिटर चौडाईको भीमेश्वर रंगशाला निर्माणपछि राष्ट्रियस्तरका फुटबल खेलहरू सञ्चालन गर्न सकिने छ । डीपीआरअनुसार कम्पनीको जग्गा प्रयोग गर्नुपर्ने उल्लेख भएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । उनले भने, ‘तत्काल सो क्षेत्रमा काम नहुने भएको कारण जग्गा प्राप्तिको लागि प्रक्रिया सुरु गरिएको छैन ।’
‘हामीले जग्गा भाडामा लगाएका छौं, कसैलाई निर्माण कार्यको लागि दिएका छैनौँ र दिन पनि मिल्दैन ।’ कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी प्रवन्धक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । नेपालको प्रचलित कानुनअनुसार अर्काको जग्गा नापेर डीपीआर बनाउने तथा निर्माण कार्य गर्ने छुट जग्गाधनी बाहेक कसैलाई नभएको सूचना अधिकारी प्रवन्धक कार्कीले बताए ।
किरातेश्वर÷सिमपानी जेभीले २०७९ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २५ गते सम्झौता गरेको थियो । पहिलोचरणमा दक्षिण र पूर्वतिरको २ तले भवनसहितको अत्याधुनिक आरसीसी प्यारापिट निर्माण गरिने भीमेश्वर नगरपालिकाका योजना तथा पूर्वाधार शाखा प्रमुख इन्जिनियर सुरेश राउतले बताए । कर बाहेक ११ करोड १६ लाखको लागतमा निर्माण सुरु गरिएको भीमेश्वर रंगशाला फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको हुने इन्जिनियर राउतले बताए । ३ दिशाबाट गौरीशंकर हिमालसहितका रोल्वालिङ हिमश्रृंखलाको मनमोहक दृश्यावलोकन सहित खेलको मज्जा लिन सकिने भीमेश्वर रगशालामा दशरथ रंगशालाकै तहको सेवा सुविधा उपलब्ध हुने बताईएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।