काठमाण्डौंमा संसद विघटनको सिफारिस, सरकारका प्रवक्ता दोलखामा भोजमा मस्त

 आवाज संवाददाता     ५ पुष २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

पुस ५, दोलखा । काठमाण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस गरिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ भने दोलखामा भोजमा मस्त देखिएका छन् ।

३ दिनदेखि दोलखामा रहेका सरकारका प्रवक्ता गुरुङ गृह स्थानीय तह गौरीशंकर गाउँपालिका, वडा कार्यालय लगायत स्थानीयले आयोजना गरेको भोजमा मस्त देखिएका छन् ।

सरकारका प्रवक्ता गुरुङ गए राती जन्मगाउँ गौरीशंकर गाउँपालिका–५, काप्तीमा नेकपाका स्थानीय नेताहरुले आयोजना गरेको रात्री भोजमा सरिक भएका थिए ।

प्रधानमन्त्री ओलीले काठमाण्र्डाैंमा संसद विघटन गर्न सिफारिस गरिरहेकै बेला सरकारका प्रवक्ता गुरुङ भने जन्मगाउँ काप्तीस्थित दिव्यश्वरी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिरहेका थिए ।

विद्यालय भवन उद्घाटन समारोहमा सरिक भईरहेका बेला मन्त्री गुरुङलाई संसद विघटनको सूचना टेलिफोनमा प्राप्त भएको नेकपाका एक स्थानीय नेताले जानकारी दिए ।

शुक्रबार राती सदरमुकाम चरिकोट आईपुगेका सरकारका प्रवक्ता एवम् मन्त्री गुरुङ मंगलबारमात्र राजधानी फिर्ता हुने कार्यतालिका रहेको छ । आइतबार नै सरकारका प्रवक्ता गुरुङद्वारा बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन गर्ने कार्यतालिका रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।