गौरीशंकर बहुउद्देश्यीयले दियो सेयर सदस्यलाई महामारी पीडित भत्ता रु. ५००

 आवाज संवाददाता     ५ पुष २०७७, आईतवार

पुस ५, चरिकोट । सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोभिड–१९ महामारी पीडित आफ्ना सेयर सदस्यहरुलाई महामारी पीडित भत्ता उपलब्ध गराएको छ ।

यसरी महामारीमा परेका सेयर सदस्यलाई भत्ता उपलब्ध गराउने गौरीशंकर बहुउद्देश्यीय नै पहिलो बन्न पुगेको छ । सहकारीले आफ्नो २१ औं बार्षिक साधारणसभाको अवसरमा विगत करिब ९ महिनादेखि कोभिड–१९ महामारीबाट पीडित आफ्ना ६१४ सेयर सदस्यहरुलाई प्रतिसदस्य रु. ५ सयका दरले महामारी पीडित भत्ता उपलब्ध गराएको हो ।

शनिबारबाट शुभारम्भ भएको सहकारीको २१ औं साधारणसभामा सहभागी हुन आउने सबै सेयर सदस्यहरुलाई महामारी पीडित भत्ता ५ सय र खाजा खर्च २ सय गरी कूल ७ सय रुपैयाँ उपलब्ध गराएको गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्यामकृष्ण थापाले जानकारी दिए ।

६१ लाख ५१ हजार ७ सय सेयर पूँजी रहेको सहकारीले महामारी पीडित सेयर सदस्यलाई भत्ता उपलब्ध गराउने कार्य जिल्लामानै उदाहरणीय बन्न पुगेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले बताए ।

साधारणसभाको शुभारम्भ समारोहमा सचिव दिपक धनुकेले संस्थाको सम्पूर्ण गतिविधि, नीति तथा कार्यक्रम र आगामी कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष माधव प्रसाईँले संस्थाका आर्थिक गतिविधि र आयव्यय तथा आगामी बजेट प्रस्तुत गरेका थिए ।

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक केदार खड्काले संस्थाल जिल्लामा नै पहिलोपटक कोभिड–१९ महामारी पीडित सेयर सदस्यहरुलाई भत्ता दिने कार्यक्रमलाई उच्च सम्मान र अन्य सहकारीले अनुकरण गर्नु पर्ने प्रतिवेदन पेश गरेका थिए ।

कम सदस्य संख्यामा पनि ८ करोड २२ लाख ४० हजारको कारोबार गर्न सफल रहेको सहकारीले स्थानीय रेडियो भीमेश्वर ९०.८ मेगाहर्जबाट साधारणसभाको जानकारीहरु प्रत्यक्ष प्रशारण गरेको थियो ।

जिल्ला सहकारी संघ दोलखाबा अध्यक्ष हेमन्त चौलागाई, सूर्योदय सहकारी संस्थ लिमिटेडका सचिव एवम् सञ्चारकर्मी रवीन्द्र गौतम र संस्थाका सल्लाहकार एवम् सहकारीका पूर्व सचिव गणेश न्यौपानेले साधारणसभा शुभारम्भ समारोहमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।