जनहित बहुउद्देश्यीय सहकारीको १९ औं साधारणसभा सुरु, पूँजी पुग्यो ३० करोड

 आवाज संवाददाता     ११ पुष २०७७, शनिबार

पुस ११, चरिकोट । जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा चरिकोटमा सुरु भएको छ । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित जनहित बहुउद्देश्यीय सहकारी संस्थाले एकहप्ते साधारणसभाको कार्यतालिका सार्वजनिक गरी शनिबारबाट १९ औं बार्षिक साधारणसभा चरिकोटमा सुरु गरेको हो ।

कोभिड–१९ महामारीको कारण एकैदिन एकैस्थानमा साधारणसभा आयोजना गर्दा भिडभाड हुन सक्ने र स्वास्थ्य चुनौती बढ्ने सम्भावनालाई मध्यनजर गरी शनिबार साधारणसभा शुभारम्भ कार्यक्रम मात्र आयोजना गरिएको सहकारीका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिए ।

पुस ११ देखि १८ गतेसम्म सञ्चालन हुने साधारणसभाको शुभारम्भ समारोहमा सहकारीका सचिव श्यामकृष्ण कायस्थले सहकारीको नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

२ करोड ९५ लाख ८१ हजार ३ सय सेयर पूँजी रहेको सहकारीको कूल पूँजी २९ करोड ५१ लाख ९२ हजार बराबरको लेखापरीक्षण प्रतिवेदन सहकारीका लेखा सुपरिवेक्षण समितिका सदस्य रामकुमार कार्कीले पेश गरेका थिए । सहकारीले कूल रु. ५९ लाख ७६ हजार २ सय ६२ सञ्चालन मुनाफा आम्दानी गरेको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको लेखा समिति सदस्य कार्कीले जानकारी दिए ।

शुभारम्भ समारोहका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले कोभिड–१९ महामारीको समयमा सहकारीहरुले गरेको योगदानलाई सरोकारवालाहरुले विर्सिएको आरोप लगाए । जिल्लाका सहकारीहरुले महामारीको समयमा विभिन्न सेवा तथा सुविधा र स्थानीय सहकारहरुमार्फत गरिएको योगदान विर्सिँदै गएको आभास हुन थालेको बताए । जिल्लामा रहेका सञ्चारमाध्यमहरुलाई सहकारीहरुका असल अभ्यासहरुको बारेमा जानकारी दिनु पर्ने आवश्यकता देखिन थालेको अध्यक्ष चौलागाईको भनाई रहेको छ ।

कोभिड–१९ महामारीको कारण गरिएको लकडाउनको अवधिमा सेयर सदस्यहरुलाई व्याज तथा हर्जना छुट र वचतमा थप व्याज उपलब्ध गराउन ११ लाख ५६ हजार ७ सय खर्च गरिएको सहकारीका व्यवस्थापक रमेशचन्द्र बस्नेतले जानकारी दिए । २३ सय ४ जना सदस्य रहेको सहकारीले समय अनुकूल भन्दै बचत र ऋणको व्याजदर परिवर्तन गरेको जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।