दोलखा जिल्ला प्रशासनमा नेबैलिको एक्सटेन्सन काउन्टर

 आवाज संवाददाता     ७ माघ २०७७, बुधबार

दोलखा, माघ ७
सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले यसबाट सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गरे । उनले सेवाग्राहीहरुलाई छिटोछरितो सेवा प्रदान गर्न नेपाल बैंक लिमिटिेडलाई अनुरोध पनि गरे ।
नेपाल बैंक लिमिटेड चरिकोट शाखाका प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागि एक्सटेन्सन काउन्टरको सुरुवात गरेकोले प्रविधिले साथ दिएसम्म भरपर्दो र छिटोछरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सुरुमा राजश्व सङ्कलनको मात्रै काम हुने भए पनि विस्तारै सेवा विस्तार गर्दै लगिने उनले बताए ।
एक्टेन्सन काउन्टर सञ्चालनपछि जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिने लगायतका सेवाग्राहीहरुले सुविधा पाउनेछन् भने मालपोत कार्यालय, नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय तथा कार्यालयमा आउने सेवाग्राहीहरुले समेत सुविधा पाउनेछन् ।
एक्टेन्सन काउन्टर सञ्चालनमा आउनुअघि ती सेवाग्राहीहरुले नेपाल बैंक लिमिटेड चरिकोट शाखामा राजश्व तिर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।