दोलखाका १५५ जनाले लगाए कोभीसिल्ड भ्याक्सिन (फोटो फिचर)

 आवाज संवाददाता     १४ माघ २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

माघ १४, दोलखा । कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड भ्याक्सिनको दुई डोजमध्ये पहिलो डोजको खोप दोलखाका १५५ जनाले लगाएका छन् ।

सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबारदेखि एकसाथ लगाउन सुरु गरिएको कोभीसिल्ड भ्याक्सिन १५५ जनाले लगाएका हुन् । पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार सुरू गरिएको भ्याक्सिन लगाउने पहिलो दिन लक्षित बर्गकाले उत्साहजनक सहभागिता जनाएका छैनन् । कोभीसिल्ड भ्याक्सिन ५ मिलिमिटर मात्राको रहेको छ ।

चरिकोट अस्पतालमा स्वास्थ्यकर्मी ८०, महिला स्वास्थ्य स्वर्यसेविका २७, अन्य कर्मचारी ९, सरसफाईकर्मी १४, सुरक्षाकर्मी एकजना गरी १३१ जनाले कोभीसिल्ड भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । जिरी अस्पतालमा स्वास्थ्यकर्मी ७, महिला स्वास्थ्य स्वयं सेविका १२, सरसफाईकर्मी ३ र चालक २ गरी २४ जनाले भ्याक्सिन लगाएको प्रमुख झाले बताए । बुधबार मात्र दुबै केन्द्र गरी ५ सयजनालाई भ्याक्सिन लगाउने योजना थियो ।

जिल्लाको ९ स्थानीय तहमध्ये स्वास्थ्यकर्मी ७७७, महिला स्वास्थ्य स्वयंसेविका १२५५, सरसफाइकर्मी तथा चालक ५२ र सुरक्षाकर्मी ५६ जना गरि दोलखामा कूल दुईहजार एकसय ४० जनालाई पहिलोचरणको पहिलो मात्राको खोपको पहिलो डोज लगाईने कार्यक्रम रहेको छ । जिल्लामा कोरोना विरुद्धको २ ओटा खोप केन्द्रमध्ये चरिकोट अस्पतालबाट १७४० र जिरी अस्पतालबाट ४०० जनालाई खोप लगाईने प्रमुख झाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रका गरि ३८ जना स्वास्थ्यकर्मीले खोप लगाउनेछन् । भीमेश्वर नगरपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालक गरि ३७९ जनालाई खोप लगाईने कार्यक्रम रहेको छ । गौरीशंकर गाउँपालिकाका दुईसय जना, कालिञ्चोक गाउँपालिकाका २८८ जना, विगु गाउँपालिकाका १९६ जना, तामाकोशी गाउँपालिकाका २१९ जना, मेलुङ गाउँपालिकाका २०८ जना, शैलुङ गाउँपालिकाका २१२ जना, जिरी नगरपालिकाका २०५ जना, वैत्यश्वर गाउँपालिकाका २०५ जनालाई भ्याक्सिन लगाइने कार्यक्रम छ । पहिलो डोजको खोप लगाउँदा गम्भिर किसिमको एलर्जी भएमा, गर्भवती तथा स्तनपान गराइरहेका आमालाई कोरोना विरुद्धको खोप लगाईदैन ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।