कोभीसिल्ड भ्याक्सिन लगाएका दोलखालीहरु भटाभट विरामी हुन थाले

 आवाज संवाददाता     १६ माघ २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

माघ १६, दोलखा । माघ १४ गते बुधबार पहिलो दिन कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड भ्याक्सिन लगाएका दोलखालीहरु विरामी पर्न थालेका छन् ।

सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही विरामी पर्न थालेका हुन् ।

बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरि विरामी परेका हुन् । ‘विरामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुुुुुुकुमार झाले भने, ‘सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नु पर्ने विरामी भएका छैनन् ।’

‘भ्यास्किन लगाउने भनेको भाईरस नै शरिरमा पठाउने भएकोले केहि असहज त भैहाल्छ’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रोगकै जस्तो लक्षण पनि देखिन सक्छ ।’

एक महिला स्वास्थ्य स्वयंसेविकाले टेलिफोनमा भनिन्, ‘भ्याक्सिन लगाएदेखि नै ज्वरो हन्हनी आएको छ, राम्रोसँग बोल्न समेत हुँदैन, पहिला पहिला सुनेको कोरोना लागेजस्तो भएको छ ।’ ‘खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि त्यस्तै भएको छ रे !’ उनले भनिन् ।

दुईदिनसम्म लगाईसकिएको भ्याक्सिनको प्रभाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो । बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र विहिबार भ्याक्सिन लगाएका अधिकांसलाई ज्वरो आएको बताए ।

पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए ।

५ मिलिमिटरको एक डिब्बा कोभीसिल्ड भ्याक्सिन १० जनालाई लगाईने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।