मिलिजुली कालिञ्चोक साकोसद्धारा २२ हजार सदस्यको ५० हजार बराबरको दुर्घटना बिमा

 आवाज संवाददाता     १० फाल्गुन २०७७, सोमबार

फागुन १०, चरिकोट । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफना शेयर सदस्यहरुको दुर्घटना बिमा गर्नको लागि प्रभु ईन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ ।

संस्थाले आफना शेयर सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पूर्ण अशक्तता भएमा वा हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार रुपैया पाउने गरी दुर्घटना बिमा गरिएको हो ।

भीमेश्वर नगरपालिका–६, चरिकोटस्थित जिल्लाकै ठूलोमध्येको सहकारीले दुर्घटनामा परेर आकस्मिक आर्थिक भार नथपियो भन्ने उद्देश्यले सम्पूर्ण सेयर सदस्यहरुको दुर्घटना विमा गरेको हो ।

सो कार्यको लागि अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रभु र्ईन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर भएको मिलिजुली कालिञ्चोक साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले जानकारी दिए ।

सम्झौता पश्चात बालसदस्य बाहेक मिलिजुली कालिञ्चोक साकोसका करिब २२ हजार सेयर सदस्यको दुर्घटना विमा भएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । विमा वापतको लाग्ने सम्पूर्ण प्रिमियम खर्च सहकारीले व्यहोर्ने र सेयर सदस्यको एकपैसा पनि खर्च नहुने उनले बताए ।

सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगाएत अधिकृत कर्मचारीहरु र प्रभु ईन्स्योरेन्स लिमिटेडको तर्फबाट शाखा प्रमुख बटाला र सहायक कर्मचारीको उपस्थिति रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।