शैलुङकाे पाेखरीडाँडामा साइन्स पार्क

 आवाज संवाददाता     १५ चैत्र २०७७, आईतवार

रवीन्द्र गौतम । दोलखा

चैत १५, दोलखा । पश्चिमी दोलखाको शैलुङ गाउँपालिकामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको छ ।

शैलुङ गाउँपालिकाका स्थानीय बुद्धिजीविहरु तथा शैलुङ गाउँपालिकाको पहलमा शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरको पोखरीडाँडामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले शैलुङ गाउँपालिकाको विभिन्न ३ स्थानमा अध्ययन गरी बुझाएको प्रतिवेदनमा पोखरीडाँडामा शैलुङ साइन्स पार्क फिजिबल रहेको उल्लेख छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले गत माघ ९ र १० मा शैलुङ गाउँपालिकाको विभिन्न स्थानमा गरेको स्थलगत अध्ययन पछि शैलुङ साइन्स पार्क निर्माणको प्रक्रिया अघि बढेको छ ।

विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, विज्ञहरु र नास्टको टोलीले शैलुङ गाउँपालिकाको पोखरीडाँडा, फलामपोखरी र राँकेडाँडामा दुई दिनसम्म स्थलगत अध्ययन गरेको शैलुङ साइन्स पार्कका अभियन्ता सोभित उप्रेतीले जानकारी दिए ।

नास्टले शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरको पोखरीडाँडामा शैलुङ साइन्स पार्क निर्माण प्रक्रिया अघि बढाएको अभियन्ता उप्रेतीले जानकारी दिए । जग्गा प्राप्ति पछि अर्को आर्थिक बर्षबाट सुरु गरेर ४ बर्षमा निर्माण गरिसक्ने नास्टको योजना छ ।

शैलुङ साइन्स पार्क स्थापना पछि अनुसन्धान र विकासको कामलाई बढावा दिने, वैज्ञानिक ज्ञान तथा प्रविधिको प्रवाह गरिने र स्थानीय प्रविधि र परम्पराको संरक्षणमा सहज हुने बताईएको छ ।

शैलुङ साइन्स पार्कमा अन्तरिक्ष टेक्नोलोजी मोडेल, जैविक उद्यान, जलवायु नवीनता केन्द्र, नवीकरणीय उर्जा मोडेल, विद्यालय तथा कलेजस्तरका विज्ञान मोडेल र प्रयोगशालाहरू, स्थानीय आविष्कारहरूको प्रदर्शन, चिकित्सा र स्वास्थ्य प्रविधि, स्थानीय वास्तुकला तथा ईन्जिनियरिङ संरचना हुने नास्टको प्रतिवेदनमा उल्लेख छ ।

पार्कमा अडिटोरियम, सडकहरू, पैदलमार्गहरू, विज्ञान, प्रविधि र संग्रहालय, प्रयोगात्मकस्थल र सहयोग केन्द्र, पिकनिट स्पट लगायतका संरचनाहरु पनि बन्ने बताईएको छ ।

जग्गा प्राप्तिको लागि पहल भईरहेको र कति क्षेत्रफल प्राप्त हुन्छ सोही अनुसार परियोजना निर्माण गरि लगानी गरिने योजना रहेको नास्टले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।