श्रीमती हत्या आरोपी थामीले जेलमै गरे आत्महत्या

 आवाज संवाददाता     ३ बैशाख २०७८, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

बैशाख ३, दोलखा । श्रीमतीको हत्या अभियोगमा पुर्पक्षको लागि चरिकोट जेलमा थुना रहेका कालिञ्चोक गाउँपालिका–६, लापिलाङका २८ बर्षिय हिमाल थामीले शुक्रबार जेलकै शौचालयमा आत्महत्या गरेका छन् ।

गत फागुन ८ गते बिहान आफ्नी २१ बर्षिय श्रीमती सुनिता थामीको हत्या अभियोगमा करिब एकमहिनादेखि पुर्पक्षको लागि जेलमा रहेका थामीले शुक्रबार बिहान करिब ११ बजे आफैंले लगाएको `हुड्डी´ डोरीको पासो लगाई आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले जानकारी दिए ।

थामी श्रीमतीलाई खुकरी प्रहार गरी हत्या गरेको अभियोगमा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका थिए । शुक्रबार बिहान खाना खाएर करिब पौने ११ बजे शौचालय गएका थामीले बाहिर निस्किन ढिला गरेपछि लाइनमा रहेका कैदीले जेल प्रशासनलाई जानकारी गराएका थिए ।

तत्कालै शौचालयको ढोका फुटाउँदा फुटाउँदै थामीको मृत्यु भईसकेको चरिकोट कारागारका निमित्त प्रमुख पदम केसीले जानकारी दिए । मृतकका आफन्त आएपछि मुचुल्का गरेर शौचालयबाट लाश निकाली पोष्टमार्टम गरिने निमित्त प्रमुख केसीले जानकारी दिए । आत्महत्या भएको कारण पोष्टमार्टम पछि लाशलाई आफन्तको जिम्मा लगाईने उनले बताए । मृतक हिमालको कान्छि श्रीमतीपटिको १५ महिने छोरा र जेठी श्रीमतीपटिको ४ बर्षिय गरी २ ओटा छोरा रहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।