दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी

 आवाज संवाददाता     ८ बैशाख २०७८, बुधबार

अञ्जु थामी, किस्मा थामी, चण्डिका थामी

बैशाख ८, चरिकोट । पछिल्लो एकमहिना यता मात्र दोलखा जिल्लाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको पाइएको छ ।

चालु आर्थिक बर्षको चैत महिनादेखि हालसम्म जिल्लाको ५२ ओटा वनको १२ सय ६१ हेक्टर क्षेत्रफलमा आगलागी भएको पाइएको हो । जिल्लाको ति वन क्षेत्रहरुमा मानवीय असावधानी, गैरजिम्मेवारीपन र लापरवाहीको कारण आगलागी भएको सम्वद्ध कार्यालयहरुले जनाएका छन् । वनक्षेत्रमा आगलागी हुने क्रम नरोकिएको कारण क्षतिको यकिन तथ्याङ्क आईनसकेको बताईएको छ ।

जिल्लाको विभिन्न ९ ओटा स्थानीय तहका गरी ४७ ओटा सामुदायिक वन र ५ ओटा कबुलियती वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय दोलखाको तथ्याङ्क छ ।

आगलागीको कारण वनक्षेत्रमा रहेका विरुवाहरु, काठ, पशुपंक्षि तथा जनावारहरुमाथि ठूलो क्षति पुगेको बताईएको छ । आगलागीको कारण मानवीय क्षति नभए पनि पिउने पानीको पाईप, केहि पर्यटकीयस्थलहरुमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।

आगलागी नियन्त्रणमा आ–आफ्नो क्षेत्रमा आ–आफैँले नियन्त्रणका लागि पहल गर्नु पर्ने, सम्भव नभए वन कार्यालय, सुरक्षा निकायहरुलाई खबर गर्न डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले आग्रह गरेका छन् ।

जिल्लाको १७ क्षेत्रमा लागेको आगोमध्ये ९ ओटा क्षेत्रमा अझै पूर्ण रुपले नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको ४३८ ओटा वन मध्ये ५७ ओटा वनमा आगलागी भएको तथ्याङ्क छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।