काँग्रेस दोलखाका पूर्वसभापति न्यौपानेको शुक्रबार गरियो दाहसंस्कार
आवाज संवाददाता १० बैशाख २०७८, शुक्रबार
बैशाख १०, जफे । बिहिबार अपरान्ह मृत्यु भएका नेपाली कांग्रेस दोलखाका पुर्ब सभापति एबं नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा देबीप्रसाद न्यौपानेको शुक्रबार दाहसंस्कार गरिएको छ ।
न्यौपानेको बिहिबार तामाकोशी गाउँपालिका–३ जफे स्थित आफ्नै घर छेउमा रुखको मुढाले किचेर निधन भएको थियो । न्यौपाने २०२७ सालमा जनकपुर अञ्चलको गौरीशंकर छात्र समितिको सदस्य हुँदै बिद्यार्थी राजनीतिमा लागेको बताईएको छ ।
बिद्यार्थी राजनीति पछि २०४७ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति र २०६२÷२०६३ सालको आन्दोलनमा जिल्ला सभापतिको रुपमा रहेका थिए । न्यौपाने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसको दोलखा सभापति समेत रहेका थिए ।
उनी तीनपटक दोलखाको सभापतिको रुपमा रहेका नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । राजनीतिमा कुनै लाभको पद नलिएका न्यौपाने अत्यन्तै सरल, निष्ठावान नेताको रुपमा चिनिन्थे ।
न्यौपानेले नेपाली जनताको हकहितका लागि तीनपटक गरेर करिब चारबर्ष जेल जीवन समेत बिताउनु परेको सभापति खड्काले बताए । भारतमा निर्वासन जीवन विताएका न्यौपाने नेपाली कांग्रेसले लिएको मेलमिलापको नीति पश्चात् बिपीसँगै स्वदेश फर्केका थिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।