दोलखामा ७ जना संक्रमित, आफ्नै निर्णय लत्याउँदै मन्त्री

 आवाज संवाददाता     १४ बैशाख २०७८, मंगलवार

रवीन्द्र गौतम । दोलखा

बैशाख १४, दोलखा । दोलखाको ७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो ३ दिनमा संकलन गरिएको स्वावको परिक्षणबाट ७ जनामा कोरोना संक्रमण देखिएको हो ।

दोलखा बहुउद्देश्यीय तालिम केन्द्रबाट चरिकोट अस्पतालमा अभ्यास शिक्षणका लागि गएकी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार काठमाण्डौंमा स्वाव दिएका बैत्यश्वर गाउँपालिकामा लेखा फाँटमा कार्यरत कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

चरिकोट अस्पतालमा स्थापना गरिएको पीसीआर ल्यावमा अस्पतालका करारका कर्मचारहरुको स्वाव परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकमा उपस्थित स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । तर, सो बैठकमा उपस्थित एक सहभागीले सो संख्या किन लुकाईएको हो आफू अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

डीसीसीएमसीको बैठकमा उपस्थित सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आफ्नै मन्त्री परिषद्ले गरेको निर्णय लत्याउने निर्णयमा हस्ताक्षर गरेका छन् । सोमबार मन्त्री परिपद्को बैठकले देशभरको सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णयलाई लत्याउँदै मन्त्री गुरुङले दोलखाका विद्यालयहरु खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहलाई जिम्मा दिने निर्णयमा हस्ताक्षर गरेको नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईले जानकारी दिए ।

सदरमुकाम चरिकोटका अभिभावक कुमार भुजेलले संघीय सरकारले गरेको निर्णयलाई लत्याएर विद्यालय बन्द गर्न आनाकानी गर्ने स्थानीय तह, प्रशासनले दोलखाका एकजना पनि बालबालिकालाई कोभिड–१९ संक्रमण देखिए सम्पूर्ण जिम्मेवारी लिनु पर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।